
शुक्रवार , बैशाख २२, २०८०
काठमाडौं, २२ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबीनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबीनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताएका हुन् ।
यस प्रकरणमा जोसुकै संलग्न भए पनि कारवाही गर्नुपर्ने बताउँदै उनले तर, ‘हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएकाले राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको बताएका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबीनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय छ । उक्त प्रकरणमा एकपछि अर्को ’हाइ प्रोफाइल’ संलग्नता खुल्दै गएपछि राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको छ,’ उनले भनेका छन् ।
तर, प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित वातावरणमा छानबीन गरेर दोषीमाथि कारवाही गर्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
‘सन्देहास्पद रहेका व्यक्ति सत्तापक्ष होउन् वा प्रतिपक्ष, भ्रष्टाचार जस्तो गम्भीर र जघन्य अपराधमा संलग्नलाई प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित, भयमुक्त वातावरणमा छानबीन अघि बढाउनुपर्छ । निर्दोष नपरुन्, दोषीले उन्मुक्ति नपाउन् भन्ने मान्यताका आधारमा जुनसुकै तहका राजनीतिक वा प्रशासनिक व्यक्ति हुन् कसैगरी छानबीनको दायरामा ल्याइनुपर्छ,’ उनले भने ।
यस प्रकरणले देश तथा विदेशमा रहेका नेपालीले नियालिरहेको र प्रहरी प्रशासनको सक्रियता सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको भन्दै उनले यस प्रकरणमा संलग्न भएकालाई कारवाही गर्नुपर्नेमा जोड दिए ।
‘यो प्रकरणलाई सिंगो देश र परदेशमा रहेका नेपाली समेतले बडो उत्सुकताका साथ हेरिरहेको छ मात्रै होइन सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको छ । भ्रष्टाचार र असुली प्रकरणको छानबिनमा इतिहास निर्माण हुँदै गरेको यो समयले फेरि कसैलाई निराश नबनाओस् । भ्रष्टाचारमा शुन्य सहनशीलता केवल सधैंको भाषणको विषय मात्र नबनोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij