
सोमवार , बैशाख १८, २०८०
काठमाडौं, १८ वैशाख ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले श्रमिकको स्थान पार्टी र सदनमा पनि हुनुपर्ने बताएका छन् । सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको श्रमिक सभामा धारणा राख्दै नेता महरले श्रमिकले पार्टी र सदनमा उचित स्थान पाएमात्रै मुलुक समृद्धिको मार्गमा अघि बढ्ने बताए ।
नेपालमा श्रम गरेर गुजारा गर्ने मजदूरको अवस्था अत्यन्तै कष्टप्रद रहेको बताउँदै उनले श्रमिकहरूले सम्मान पूर्वक बाच्न पाउने अवस्थाको सिर्जना गरिनुपर्ने धारणा राखे । ’राजनीतिक परिवर्तनमा श्रमिकहरूको ठूलो योगदान छ । उहाँहरूको मिहिनेतले मुलुकको आर्थिक सवलीकरणमा पनि ठूलो योगदान पुर्याएको छ । तर, आफ्नै अवस्था दयनीय छ । अब यसको अन्त्य हुनुपर्छ,’ महरले भने ।
योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिए पनि व्यवहारमा लागू हुन नसक्नु दुःखद पाटो भएको उनले बताए । मजदुरका थुप्रै समस्या रहेको र ती समस्या समाधानमा कांग्रेस पनि गम्भीर बन्नुपर्ने बताए । उनले आफूहरूले मजदुरका समस्या समाधानका लागि नेतृत्वलाई पटक–पटक झकझक्याउँदै आएको स्मरण गरे।
‘कांग्रेसका संस्थापक नेता गिरिजाप्रसाद कोइराला मजदूर नेताको रुपमा उदाउनु भएको हो । हाम्रो पार्टीको मजदूरहरूसँग ठूलो लगाव छ। अब उहाँहरूको हितमा हुने गरी नेतृत्वले काम गर्नुपर्छ र त्यसका लागि सरकारलाई पनि दवाव दिनुपर्छ,’ उनले भने ।
फरक प्रसंगमा बोल्दै महरले मुलुकमा देखिएका नयाँ राजनीतिक शक्ति भूकम्प जस्ता मात्रै भएको टिप्पणी गरेका छन्। महरले संगठन र योजना बिना हुलहुज्जतमा देखिएको लहड भूकम्प जस्तो मात्रै हुने बताए।
’उपनिर्वाचनको परिणामले आत्तिइहाल्नुपर्ने अवस्था छैन । भूकम्प कहिले आउँछ, थाहा हुँदैन । त्यसले क्षतिमात्रै पुर्याउँछ । अहिलेका नयाँ शक्ति पनि त्यस्तै हुन्। तपाईंहरूसँग के योजना छ ? भनेर सोध्दा कुनै उत्तर छैन । न संगठन छ, न योजना । ठूला राजनीतिक दललाई गाली गरेरमात्रै कति दिन साख जोगिएला ?,’ उनले भने । पुराना राजनीतिक दल जनतामाझ पुग्न नसक्नु भने आफूहरूको पनि कमजोरी रहेको उनी बताउँछन् ।
अब जनताको घरदैलोमा पुगेर कांग्रेस जनमैत्री बन्नुपर्ने उनले बताए । ’जसरी भूकम्पको समयमा काठमाडौंमा घरबेटी सातौँ तलबाट जमिनमा आएका थिए त्यसरी नै हाम्रा नेताहरू पनि अब जनताको घरदैलोमा पुग्नुपर्छ । हामीलाई जनताले सच्चिनुहोस्, हाम्रो घरदैलोमा पुगेर हाम्रा भावनाको सम्बोधन गरिदिनुहोस् भनिरहनु भएको छ । त्यो जनताको हामीप्रतिको अपेक्षा पनि हो,’ उनले भने । राजनीति देश र जनताकै लागि गरिने भएकाले सातौँ तल्लाबाट जमिनमा हेरेरमात्र नहुने उनले बताए ।
मुलुकलाई एउटा दिशामा ल्याउनका लागि विभिन्न कालखण्ड पार गर्नुपर्ने भएकाले पनि केही समय जनतामाझ जान नसकिएको स्विकार्दै महरले अब भने कुनै पनि बहानामा पार्टीलाई जनमैत्री र युवामैत्री बनाउनबाट चुक्न नहुने धारणा राखे । विभिन्न घटनाक्रमले कुनै न कुनै सन्देश दिने बताउँदै महरले अहिलेको परिस्थितिले जनताले परिवर्तित कांग्रेस खोजिरहेको बताए । त्यसका लागि नेतृत्व तयार हुनुपर्ने र आफूहरूले पनि झकझक्याइरहेको उनले धारणा राखे ।
’लोकतन्त्रको जग बसाल्दै कांग्रेसले बलियो बनाइसकेको छ । त्यसभित्र जनता ढुक्कसँग बस्न सक्ने अवस्था सिर्जना भएको छ । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदै संविधान निर्माण गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा दुई पटक निर्वाचन गराउन कांग्रेसले खेलेको नेतृत्वदायी भूमिकालाई जनताले भुल्नु भएको छैन,’ उनले भने । मुलुक अप्ठ्यारोमा पर्दा निकास दिने एक मात्र पार्टी कांग्रेस नै भएको उनले दावी गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij