
सोमवार , बैशाख १८, २०८०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका छन् ।
सोमबार चितवनमा प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले सरकार यताउता हुने कुरा भ्रम रहेको भन्दै वर्तमान सरकार पाँच बर्ष चल्ने दावी गरेका हुन् । उनले रास्वपाले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नहुने र रास्वपालाई सरकारमा ल्याउन सकारात्मक कुराकानी भइरहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीलाई जोगाउने प्रयासमा सरकार नलागेको भन्दै न्यूनतम साझा कार्यक्रममा समेत भ्रष्टाचार अन्त्य गर्नका लागि प्रतिवद्धता जनाइएको जानकारी दिए । उनले महाविर पुन आफूसँग सल्लाहानै गरेर माइतीघरमण्डलामा धर्नामा बसेको बताए ।
धर्ना अघि आफूसँग बालुवाटारमा भेटेको जनाउँदै उनले पुनले उठाएका मागप्रति सरकार सकारात्मक रहेको बताए । त्यस्तै प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई रकम दिने विषय विसं २०७१ को सरकारले गरेको निर्णय भएको उनले बताए । उनले अयोग्य लडाकुका बारेमा अदालतको फैसलालाई आफुले कार्यान्वयन मात्रै गर्न खोजेको स्पष्ट पारे ।
उनले एमाले अध्यक्ष केपी ओलीमाथिको आक्रमणमा सत्तारुढ दल लागेको भन्ने कुरा झुटो भएको बताए । ओलीले भनेजस्तो तत्कालीन राजा र तीनका समर्थकले विरोध गरेको हो भने त्यो गम्भीर बिषय भएको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij