
सोमवार , बैशाख १८, २०८०
काठमाडौं, १८ वैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनवाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रिय समिति र संसदीय दलको दुवैको बैठक आज बस्न लागेको हो ।
जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।
निर्वाचित भएर आएपछि पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आइतबार लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्ने विषयको बुदाँ नै हटाएको भन्दै सभापति लामिछानेले आपत्ति जनाउँदै आएका छन् ।
जसकाकारण सरकारले दिएको समर्थन कायमै रहन्छ भन्नेमा आशंका कायमै रहेको बेला रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बोलाइएको हो ।
त्यसै गरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेण्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलापछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्तः पदमुक्त भएका थिए ।
लामिछाने पदमुक्त भएपछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आएपछि उनले शनिबार नै राजीनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुनः चयन हुने बुझिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij