
आइतवार , बैशाख १७, २०८०
तिलोत्तमा, १७ वैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टीरेविज भ्याक्सिन सेवा सुरु भएको छ । तिलोत्तमा नगरपालिका–६ स्थित आनन्दवन स्वास्थ्य चौकीबाट सो सेवा सुरु भएको वडाअध्यक्ष गणेश पाठकले बताए । यसअघि बुटवल र भैरहवामा मात्रै उपलब्ध रहेको रेविजविरुद्धको भ्याक्सिन अब तिलोत्तमामा पनि पाइने भएको हो ।
तिलोत्तमा नगरप्रमुख रामकृष्ण खाणले भ्याक्सिनसहितको बक्स स्वास्थ्य चौकीका प्रमुख ज्ञानु पौडेल र फोकलपर्सन हुमनाथ पाण्डेलाई हस्तान्तरण गरी उक्त सेवा सुरु गरे । सेवा आरम्भ कार्यक्रममा बोल्दै खाणले स्वास्थ्य क्षेत्रमा अझै पनि सुचना र चेतना कम हुँदा समस्या देखिएको बताए । उनले यो सेवासम्बन्धी जानकारी हरेक वडाका नगरबासीसमक्ष पुर्याउन सम्पूर्ण नगरबासी टोलबासीहरुमा आग्रह गरे । नगरप्रमुख खाणले नगरपालिकाको हरियाली प्रवद्र्धन, छाडा कुकुर र अन्य जनावर व्यवस्थापन तथा स्वास्थ्यको क्षेत्रमा नगरपालिका लागिपरेको बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा–६ का वडा अध्यक्ष गणेश पाठकले बुटवल भैरहवा जानुपर्ने बाध्यता टरेको भन्दै रेविजको भ्याक्सिन तिलोत्तमामै पाइने बताए । उनले घरघरमा स्वास्थ्यकर्मी र जनताले सोसम्बन्धी सूचना र चेतनालाई सबै माझ लैजानुपर्ने बताए ।
कार्यक्रममा बोल्दै तिलोत्तमा–१ का वडाअध्यक्ष फर्शुराम गिरी, स्वास्थ्य शाखा प्रमुख ध्रुव घिमिरे, स्वास्थ्य चौकी प्रमुख ज्ञानु पौडेललगायतले नगरबासीहरुले सो सम्बन्धि सेवाको पूर्ण लाभ लिन आग्रह समेत गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij