२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन सक्ने, स्वदेश फर्कने अझै छैन टुंगो

आइतवार , बैशाख १७, २०८०

काठमाडौं, १७ वैशाख । 
राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार अखिल भारतीय आर्युविज्ञान अस्पतालमा (एम्स अस्पताल)मा उपचाररत राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन् ।

‘सम्मानीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सबन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले (आइतबार) सम्ममा अस्पतालवाट डिस्चार्ज हुन सक्ने सम्भावना रहेको बताएका छन,’ नेपाली दुतावासले भनेको छ ।

छातीमा जमेको पानीमा संक्रमण देखा परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) तथा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकको सुझावमा उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । 

गत वैशाख ६ गते श्री एअरलाइन्सको एअर एम्बुलेन्समाफत नयाँ दिल्ली गएका पौडेल १० दिनपछि डिस्चार्ज हुन लागेका हुन् । छातीमा समस्या देखा परेपछि उनी ५ गते साँझ शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । यसअघि पनि पेटमा समस्या भएपछि राष्ट्रपति पौडेललाई गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा नै उपचार गरिएको थियो ।