
शुक्रवार , बैशाख १५, २०८०
काठमाडौं, १५ वैशाख ।
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले राष्ट्रिय आविष्कार केन्द्रका सभापति तथा म्यागसेसे अवार्ड विजेता महावीर पुनले राखेका मागप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको आकस्मिक समयमा बोल्दै सांसद् घिमिरेले महावीर पुन जस्ता अनुसन्धानमा लागिपरेका व्यक्तिलाई प्रोत्साहन गर्ने वातावरण निर्माणमा लाग्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अनुसन्धान गर्न चाहने व्यक्तिलाई सरकारले प्रोत्साहन नगरेको भन्दै भन्दै राष्ट्रिय आविष्कार केन्द्रका सभापति तथा म्यागसेसे अवार्ड विजेता पुनले शुक्रबारबाट आन्दोलन थालेका छन् । पुनले अनुसन्धानको क्षेत्रमा गरेको योगदान आफैमा प्रशंसनीय रहेको उल्लेख गर्दैै सांसद् घिमिरेले पुनले राखेका जाहेज माग पूरा गराउन सरकार तत्पर हुनुपर्ने बताए ।
नेपालमै अनुसन्धान र आविष्कारको क्षेत्रमा केही गर्छौं भन्ने युवाहरुलाई सरकारले प्रोत्साहन गर्नुपर्ने बताउँदै सांसद् घिमिरेले स्वदेशमा अवसर नपाएका कारण कयौं नेपाली युवाहरु विदेशमा पुगेर नयाँ-नयाँ आवष्किारको काममा लागेको उल्लेख गरे । ‘त्यसैले महावीर पुन जस्ता अनुसन्धानमा लागिपरेका व्यक्तिलाई आन्दोलन गर्नुपर्ने वातावरण होइन, प्रोत्साहन गर्ने वातावरण निर्माणमा लाग्न म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने ।
पुनले सरकारसँग अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याएर नवप्रवद्र्धन र आविष्कार कोषमा राखिनुपर्ने, सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन सार्वजनिक खरिद ऐनभन्दा छुट्टै ‘अनुसन्धान, नवप्रवद्र्धन र आविष्कार प्रवद्र्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने लगायतका माग राखेकोमा ती माग पूरा नभएपछि शुक्रबारबाट आन्दोलन सुरु गरेका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij