
बिहिवार , बैशाख १४, २०८०
भैरहवा, १४ वैशाख ।
रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपक बोहराको निजी सचिवालय उद्घाटन गरिएको छ । सिद्धार्थनगर नगरपालिका (भैरहवा) वडा नम्बर ३ खजहनास्थित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यालय परिसरमा स्थापना भएको सचिवालयको बिहीबार एक कार्यक्रमकाबीच सांसद् दीपक बोहराले उद्घाटन गरेका हुन् ।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, पार्टीका वरिष्ठ नेता, सांसद् तथा पूर्वमन्त्री दीपक बोहराको प्रमुख आतिथ्यता तथा राप्रपा रुपन्देहीका सचिव बलराम शर्माको सञ्चालनमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समितिका संयोजक एवं पूर्व गृहमन्त्री निरञ्जन थापा, केन्द्रीय सदस्य स्वाती थापा, बसन्त विक्रम शाही, राप्रपा लुम्बिनी प्रदेश संसदीय दलका नेता आशिष कुमार चौधरी, पार्टीका रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।
सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी २१ जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्नुभएको राप्रपा रुपन्देहीका सचिव बलराम शर्माले जानकारी दिए ।
यसैबीच राप्रपा वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य दीपक बोहराको निजी सचिवालयको आयोजनामा शुक्रबार (भोली) दिउँसो १ बजे भैरहवास्थित होटल पौवामा नयाँ वर्ष २०८० को अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने राप्रपाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij