२०८२, श्रावण १२ गते

Jul 28 2025 | २०८२, श्रावण १२ गते

मदरसाहरुमा पनि शिक्षक दरबन्दीको व्यवस्था गर्न माग

मंगलवार , बैशाख १२, २०८०

काठमाडौं, १२ वैशाख । 
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले मदरसाहरुमा समेत यथोचित शिक्षक दरबन्दीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद् घिमिरेले धार्मिक विद्यालयका रुपमा सञ्चालित मदरसाहरुको अवस्था निकै दयनीय रहेको उल्लेख गरे ।

आफूले प्रतिनिधित्व गर्ने रुपन्देही क्षेत्र नम्बर ५ मा रहेका ५२ वटा मदरसामा मात्र ९ हजारभन्दा बढी विद्यार्थी अध्ययरत रहे पनि केही मदरसालाई मात्र सरकारबाट वार्षिक २ लाख अनुदान उपलब्ध हुँदै आएको उनको भनाइ छ । मदरसामा न्यूनतम भौतिक संरचना नहुँदा बालबालिकाहरुले निकैं कष्ट पाउनु परेको बताउँदै सांसद् घिमिरेले मदरसाहरुमा सरकारले तोकेको पाठ्यक्रम समेत लागु गराई सामुदायिक विद्यालयसरह शिक्षक दरबन्दी र भौतिक साधनस्रोत उपलब्ध गराउन सरकारसँग माग गरे ।

त्यस्तै सांसद् घिमिरेले विद्यार्थी संख्याअनुसार कतिपय सामूदायिक विद्यालयमा शिक्षक दरबन्दी र भौतिक साधनस्रोत नहुँदा विद्यालयले अभिभावकसँग सहयोग रकम उठाउन बाध्य हुनुपरेकोले सामुदायिक विद्यालयमा यथोचित शिक्षक दरबन्दीको साथै अन्य भौतिक साधनश्रोतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।