
मंगलवार , बैशाख १२, २०८०
भैरहवा, १२ वैशाख ।
नेकपा (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा रु. २२ लाख ४५ हजार ८ सय ७६ खर्च गरेको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् ।
पौडेलका निर्वाचन प्रतिनिधि खुमकान्त पौडेलले बुझाएको विवरणअनुसार सवारीसाधनमा रु. ३ लाख ३५ हजार, प्रचार प्रसार सामग्रीमा रु. २ लाख २५ हजार, छापा एपं विद्युतीय माध्यममा रु. ९ लाख २० हजार ८ सय ७६, ढुवानीमा रु. ७१ हजार, गोष्ठी, अन्तरक्रिया कार्यकर्ता परिचालनमा रु. २ लाख ७७ हजार, मनोनयन दाखिलामा २२ हजार, कार्यालय सञ्चालनमा रु. ३ लाख ८५ हजार र विविध रु. १० हजार खर्च भएको उल्लेख छ ।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
नेकपा (एमाले) रुपन्देहीले सोमबार तिलोत्तमाको कोटिहवास्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारहरुको खर्च विवरण सार्वजनिक गरेको हो ।
त्यस्तै नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले निर्वाचनमा रु. १९ लाख ९७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको विवरण निर्वाचन आयोगलाई बुझाएका छन् । विश्वकर्मा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यसै गरी एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य बासुदेव घिमिरेले रु. २७ लाख ८९ हजार ५ सय २० खर्च भएको विवरण बुझाएका छन् । घिमिरे रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
त्यस्तै रुपन्देही क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यका उम्मेदवार दधिराम न्यौपानेले रु. २ लाख ६३ हजार ९ सय २०, २ (१) बाट उम्मेदवार लिला गिरीले रु. २ लाख ४८ हजार ७ सय ५०, २ (२) बाट उम्मेदवार भोज प्रसाद श्रेष्ठले रु. १३ लाख ८९ हजार ७ सय ४१ र ३ (२) बाट उम्मेदवार तुलसी प्रसाद चौधरीले रु. २ लाख ९३ हजार १ सय ७४ खर्च भएको विवरण बुझाएका छन् ।
त्यसै गरी क्षेत्र नम्बर ४ (१) बाट उम्मेदवार सुनिल कुमार गिरीले रु. १ लाख १० हजार, ५ (१) बाट उम्मेदवार भुमिश्वर ढकालले रु. ४ लाख ९८ हजार ४ सय ७० र क्षेत्र नम्बर ५ (२) बाट उम्मेदवार भएका राम चन्द्र यादवले रु. ५ लाख ५३ हजार खर्च भएको विवरण निर्वाचन आयोगमा बुझाएको एमाले रुपन्देहीका सचिव यज्ञ गैरेले बताए ।
एमाले रुपन्देहीका जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले निर्वाचन आयोगमा बुझाइएको उम्मेदवारहरुको निर्वाचन खर्च विवरण सार्वजनिक गरिएको बताए ।
निर्वाचन खर्च विवरण सार्वजनिक कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु शिवराज सुवेदी, एकराज विश्वकर्मा, रुपन्देही जिल्ला उपाध्यक्ष जगेश्वरी देवी चौधरी, उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, उपसचिव चित्र बहादुर कार्कीलगायत नेताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij