२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

पक्लिहवा माविमा शिक्षकशिक्षिकाहरुलाई सम्मान

शनिवार , बैशाख ९, २०८०

भैरहवा, ९ वैशाख ।
श्री पक्लिहवा माध्यमिक विद्यालय, पक्लिहवा सिद्धार्थनगर–१, रुपन्देहीमा अध्यापन गरेका शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिएको छ । भूतपूर्व युवा विद्यार्थी प्रवेशिका (एसएलसी) परीक्षा समूह २०५४–२०५६ ले शुक्रबार विद्यालयमा एक कार्यक्रमकाबीच शिक्षकशिक्षिकाहरुलाई सम्मान गरेको हो । कार्यक्रममा २१ जना शिक्षकशिक्षिका र १ जना कार्यालय सहयोगी गरी २२ जनालाई सम्मान गरिएको कार्यक्रम संयोजक तथा विद्यालयका पूर्व विद्यार्थी भीम बहादुर थापाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै पक्लिहवा माविका पूर्व विद्यार्थी तथा नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजीपी) कुवेर सिंह रानाले परिवर्तनको व्यवस्थापन गर्नु नै आजको चुनौति भएको बताए । उनले पक्लिहवा माविलाई सफलताको उत्कर्षमा पुर्याउन सकिन्छ भन्ने कुरामा विश्वस्त रहेको बताए ।

उनले मुलुकमा बेरोजगारी समस्या बढ्नुका साथै अपेक्षित जनशक्तिको अभावसमेत रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ‘गुरु र गुरुआमाहरुले देखाउनुभएको सत्मार्गमा हिंड्नुपर्छ, सफलता अवश्य मिल्छ ।’

त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले कार्यक्रममा सहभागी हुन पाउँदा गर्वको अनुभुति भएको बताए । उनले भने, ‘आफूले अध्ययन गरेको विद्यालयमा कार्यक्रम गर्नुभएको छ, यो एकदमै सराहनीय कार्य हो ।’

पक्लिहवा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका पूर्व विद्यार्थी सुशील गुरुङले आफूले जीवनको महत्वपूर्ण समय यसै विद्यालयमा बिताएको बताए । उनले विद्यालयको पूर्वाधार विकास र शैक्षिक गुणस्तर सुधार गर्न लागिपरेको बताए । अध्यक्ष गुरुङले विद्यालय व्यवस्थापन समितिको एक्लो प्रयासले मात्र विद्यालयको विकास हुन नसक्ने भएकाले स्थानीय समाज, स्थानीय सरकारलगायतको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘विद्यालयलाई अगाडि बढाउन सबै मिलेर अघि बढौं ।’

विद्यालयका पूर्व शिक्षक दिनेश श्रेष्ठले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । 
विद्यालयकी पूर्व शिक्षिका लेखा थापाले आफ्नै विद्यार्थीबाट सम्मानित हुन पाउँदा गर्वको अनुभुति भएको बताइन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङको अध्यक्षता, पूर्व आइजीपी कुवेर सिंह रानाको प्रमुख आतिथ्यता, कार्यक्रम संयोजक भीम बहादुर थापाको स्वागत तथा पूर्व विद्यार्थी माधव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेल, विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो ।