
शुक्रवार , पौष २४, २०७७
भैरहवा, २४ पुस ।
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सुदृढीकरण आयोजना सम्बन्धी अभिमुखिकरण कार्यक्रम सिद्धार्थनगरमा सम्पन्न भएको छ । सिद्धार्थनगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण सेवा इकाइको आयोजनामा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा सम्बन्धी व्यवस्था ,बैकिंग प्रणाली, डिजिटाइजेसन, गुनासो व्यवस्थापन तथा आयोजनाका विविध विषयमा छलफल भएको थियो ।
कार्यक्रममा नगरप्रमुख अधिकारीले वडाहरुमा छिट्टै अनलाइन माध्यमबाट व्यक्तिगत घटना दर्ता गर्ने तयारी रहेको बताए । नगर उपप्रमुख उमा काफ्लेले प्रविधिको प्रयोग गरेर अभिलेख राख्दा अभिलेख राख्न समेत सहज हुने र यसरी अनलाइनमार्फत प्रविधिको प्रयोगले काममा चुस्तदुरुस्त राख्न सहयोग मिल्ने बताए ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले परम्परागत रुपमा अभिलेख राख्दा समेत समस्या हुने भएकोले सरकारले थालेको डिजिटलाइजेशन अभिलेखीकरणले सेवामा समेत सहजता ल्याउने बताइन् । साथै यस प्रकारको अभिमुखीकरण कार्यक्रमले कर्मचारीहरुलाई काम गर्दा सहजता हुने उनले विश्वास व्यक्त गरिन् ।
वडा नम्बर ३ का वडाअध्यक्ष थानेश्वर पौडेलले सिद्धार्थनगर नगरपालिका ११ नम्बर वडा कार्यालयमा हालसम्म पनि इन्टरनेटको सेवा नपुगेकोमा नगरपालिका प्रविधिमा पछि परिरहेको अवस्था रहेकाले यसका लागि वडामा छिटै इन्टनेटको पहुँचमा जोड दिने बताए । कार्यक्रममा १३ वटै वडाका वडा अध्यक्षहरु, विभिन्न शाखाका प्रमुखहरु, वडा सचिवहरु लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij