
सोमवार , बैशाख ४, २०८०
रुपन्देही, ४ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसद्को पूर्वाधार विकास समितिमा प्रतिनिधिसभा सदस्य (सांसद्) दीपक बोहरालाई सिफारिस गरेको छ । राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री समेत रहेका बोहरा रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद् हुन् । त्यस्तै राप्रपाले पूर्वाधार विकास समितिमा बोहराँसगै वीना लामा पनि सिफारिस गरेको छ ।
राप्रपाले १० वटा संसदीय समितिहरुमा समावेश गर्न पार्टीका सांसद्हरुको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद २१ को दफा १७२ र १७३ अनुसार राप्रपाले संघीय संसद सचिवालयका महासचिवलाई सिफारिस गरेर पठाएको हो ।
राप्रपाले अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन र विक्रम पाण्डेलाई सार्वजनिक लेखा समितिमा सिफारिस गरिएको छ । त्यस्तै अर्थ समितिमा ज्ञान बहादुर शाही (ज्ञानेन्द्र शाही) र दीपक सिंहलाई सिफारिस गरिएको छ ।
त्यस्तै उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा गीता बस्नेत, कानून न्याय तथा मानव अधिकार समितिमा ध्रुवबहादुर प्रधान, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा अनिशा नेपालीको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।
त्यसै गरी महिला तथा सामाजिक मामिला समितिमा रोशन कार्की, राज्य व्यवस्था तथा सुशासन समितिमा बुद्धिमान तामाङ तथा शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विना जैसवालको नाम सिफारिस गरिएको राप्रपाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij