
शनिवार , बैशाख २, २०८०
रुपन्देही, २ वैशाख ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका पोलिटव्युरो सदस्य लिला गिरीले केही दलहरु बामपन्थीको नाममा विदेशी शक्तिको स्वार्थपूर्तिमा लागेको बताएका छन् । उनले बामपन्थीका नाममा स्वार्थपूर्तिमा लागेका दलका नेताका कारण देशमा अस्थिरता बढेको र एमालेविरूद्व घेराबन्दी भइरहेको बताए । उनले भने, ‘बामपन्थी एक हुँदा हामी उत्साहित भएका थियौं ।’
प्रेस चौतारी नेपाल, रुपन्देहीको २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री गिरीले मुलुकमा अस्थिरता निम्त्याउनेहरुले संघीयता विरोधी अभियान चलाउन थालेको बताएका छन् । उनले संघीयता विरोधी र अस्थिरता निम्त्याउनेहरुलाई मलजल हुने गरी गतिविधि नगर्न आग्रह गरेका छन् ।
मुलुकमा वैदेशिक हस्तक्षेप बढेको बताउँदै मुख्यमन्त्री गिरीले भने, ‘मिडियाले राष्ट्रियताको पक्षमा दह्रो वकालत गरेर जनमत बनाउनुपर्छ । ’ एमाले नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा कामको समेत मिडियाले प्रचार नगरेको मुख्यमन्त्री गिरीले गुनासो गरे । उनले अस्थिरताबाट फाइदा लिने शक्तिकाविरुद्ध पनि कलम चलाउन आवश्यक रहेको बताए ।
कार्यक्रममा नेकपा एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, एमाले नेताहरु मोहन चापागाई, रुपन्देही जिल्ला उपसचिव तथा प्रचार विभाग प्रमुख हितराज पन्थी, प्रेस चौतारीका अग्रज नेताहरु डीआर घिमिरे, शेरबहादुर केसी, इन्दिरा अर्याल, प्रेस चौतारी केन्द्रीय सचिव प्रदीप आचार्य, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज अमृत गिरी, लुम्बिनी प्रदेश महासचिव निरु गौतम, जिल्ला उपाध्यक्ष वि.पी. गौतम, भगवती पाण्डे लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव केशव भण्डारीले सांगठनिक र कोषाध्यक्ष दिनेश कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा प्रेस चौतारीका केन्द्रीय सदस्य टोपराज शर्माले जिल्ला शाखाले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा २५ हजार ५ सय २५ रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij