
बिहिवार , चैत्र २३, २०७९
रुपन्देही, २३ चैत ।
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले पार्टी संगठनलाई तल्लो तहसम्म लैजाने गरी अभियान सञ्चालन गर्न आग्रह गरेको छ । समाजवादी रुपन्देही जिल्ला सचिवालयको बिहीबार बुटवलमा बसेको बैठकले पार्टीले सञ्चालन गरेको संगठन सुदृढीकरणका लागि विशेष अभियानलाई तीव्रता दिदै नागरिकका जनसरोकारको मुद्दालाई आधार बनाएर पार्टी गतिविधि सञ्चालन गर्न पालिका, वडा र टोल कमिटीलाई आग्रह गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कार्यक्रमअनुसार नेकपा (एस) ले रुपन्देहीमा विशेष अभियान अन्तर्गत, भेला, बैठक, छलफल, जनसंगठन निर्माण एवं विस्तारलाई तीव्रता दिदै आएको पार्टीले जनाएको छ ।
सचिवालय बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज राजु गुरुङले अब जनताको जनजीविकाका मुद्दालाई लिएर जनताको घरघरमा पुग्न नेता कार्यकर्तालाई आग्रह गरे । उनले कम्यूनिष्ट पार्टीका कार्यकर्ता, पद, प्रतिष्ठामा भन्दा जनताको बीचमा जानुपर्ने बताउँदै विशेष अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा नेकपा एसका केन्द्रीय सदस्य एवं संगठन सुदृढीकरण विशेष अभियान रुपन्देहीका अनुगमनकर्ता यादव बहादुर रायमाझी, केन्द्रीय सदस्य एवं प्रदेश सांसद भगवती घिमिरे लगायतका नेताहरुले पार्टी संगठन सुदृढीकरण विशेष अभियान पार्टी बलियो बनाउने अभियान भएकाले सबै तल्लो तहसम्म लाग्नुपर्नेमा जोड दिए ।
बैठकले जिल्ला कमिटी सदस्यमा मनोज रिजाल र धिरेन्द्रनाथ त्रिपाठीलाई मनोनयन गर्ने निर्णय गरेको पार्टीका जिल्ला अध्यक्ष अविराम विकले जानकारी दिए । अध्यक्ष विकको अध्यक्षता, उपसचिव मीरा श्रेष्ठको स्वागत तथा सचिव सरिता श्रीसको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij