
बिहिवार , चैत्र २३, २०७९
भैरहवा, २३ चैत ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक स्वस्थ बनाउने मात्र नभइ असल राजनीतिक संस्कार समेत सिकाउने बताएका छन् । विपक्षीसँग कसरी मित्रवत बन्ने र स्वस्थ प्रतिष्पर्धामा उत्रेर श्रेष्ठता हासिल गर्ने भन्ने खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट रहने उनले बताए ।
बिहीबार लुम्बिनीमा आयोजित मदन भण्डारी स्पोर्टस् एकेडेमीको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले खेलकुदलाई बृहद रुपमा बुझ्न र सबैका लागि खेलकुदको अवधारणालाई कार्यान्वयन लैजान आग्रह गरे । ‘खेलकुदले व्यक्तिलाई स्वस्थ र प्रतिष्पर्धी बनाउछ । प्रतिष्पर्धाका आधारमा श्रेष्ठता हासिल गर्ने विधि सिकाउँछ,’ ओलीले भने, ‘यसैले खेल व्यक्ति व्यक्तिले खेल्न र स्वस्थ प्रतिष्पर्धामा उत्रने बानीको विकास गर्न आवश्यक छ ।’ उनले खेलकुदले इज्जत, प्रतिष्ठा, राष्ट्रिय पहिचान र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत भूमिका खेलेको बताउँदै अब समृद्धिका लागि पनि खेल आवश्यक रहेको बताए । ‘खेल प्रतिष्पर्धाहरु बढाउनुपर्छ । खेलेर पनि समृद्ध बन्न सकिन्छ भन्ने बनाउनुपर्छ,’ ओलीले भने ।
पूर्वप्रधानमन्त्री ओलीले खेलसम्बद्ध संस्थाहरुले ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने अभियान थाल्नुपर्ने बताए । त्यस्तो अभियानको थालनी मदन भण्डारी स्पोटर्स एकेडेमीबाट भएको बताउँदै यसलाई अझ विस्तार गर्न सुझाव दिए । आफूले खेल विकास र पूर्वाधार निर्माणलाई सधै प्राथमिकता दिएको बताउँदै खेल सम्बद्ध संस्थाहरुले पनि राज्यलाई झकझकाउनुपर्ने बताए ।
पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले खेलकुदको पूर्वाधार विकासलाई आफूले सधै प्राथमिकता दिएको बताए । सुरु खेल पूर्वाधारहरु सकिदा धेरै खेलाडीलाई खेलअभ्यास र प्रतिष्पर्धामा सहज हुँदै जाने उनले जनाए । खेलेर पनि उत्कृष्ट जीवनयापन गर्न सकिन्छ भन्ने बनाउन खेलाडीको हैसियत बढाउने काममा पनि लगानी बढाउनुपर्ने उनले बताए ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले खेलकुदको विकासका लागि जुनियर खेलाडी उत्पादनदेखि तहगत प्रतिष्पर्धालाई अगाडि बढाएको बताए । देशका ६५ जिल्लामा शाखा विस्तार गरेको बताउँदै उनले आउँदो तीन महिनाभित्र ७७ वटै जिल्ला र स्थानीय तहमा शाखा विस्तार गरी काम थाल्ने जनाए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij