२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कुखुराको मासुको मूल्य घटेपछि किसान असन्तुष्ट

बुधवार , चैत्र २२, २०७९

काठमाडौं, २२ चैत ।
पोल्ट्री व्यवसायीले कुखुरा मासुको मूल्य घटाएपछि किसान मर्कामा परेका छन् । मंगलबारदेखि लागू हुने गरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाइएको नेपाल राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघले जनाएको छ ।

अब जिउँदो ब्रोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । यसरी मूल्य घटाउँदा आफूहरूलाई नसोधिएको कुखुरा किसानको गुनासो छ ।

जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ । ४०० रुपैयाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपैयाँ पुगेको संघका अध्यक्ष जंगबहादुर बेल्बासेले बताए ।

पोल्ट्री व्यवसायीले किसानको खोरबाट प्रतिकेजी २८० रुपैयाँमा खरिद गरी ३९० मा बेच्ने गरेका छन् । नेपाल कुखुरा किसान संघका अध्यक्ष झनक पौडेलले पोल्ट्री व्यवसायीले घटाएको मूल्य आफूहरूलाई स्वीकार नहुने चेतावनी दिएका छन् ।

पोल्ट्री व्यवसायीले आफूहरूसँग २००–२५० रुपैयाँ प्रतिकेजी खरिद गरेर लैजान्छन् र त्यसलाई तयारी गरेर ४०० देखि ४५० रुपैयाँ प्रतिकेजीमा विक्रीवितरण गर्ने गरेको अध्यक्ष पौडेलले दावी गरे ।