
सोमवार , चैत्र २०, २०७९
काठमाडौं, २० चैत ।
नेपाली कांग्रेसले कारवाही फुकुवाको निर्णय गरेपछि तनहुँका नेता गोविन्दराज जोशीले आफूलाई उक्त निर्णय मान्य नहुने बताएका छन् । उनले चुनावको मुखमा भ्रम छर्ने उद्देश्यले कारवाही फुकुवा गर्नुको कुनै औंचित्य नभएको बताएका हुन् ।
‘वर्षौंदेखि नेपाली कांग्रेसको राजनीतिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौंदेखि भोग्दै आएको छ । १० औं हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरिएको छ, यो सरासर गलत छ, यसप्रति मेरो घोर आपत्ति छ,’ जोशीले सामाजिक संजालमार्फत भनेका छन् ।
उनले विगतमा पटक–पटक वार्ता टोली नै बनाएर संवादको पहल गर्दा पनि कांग्रेस नेतृत्वले वेवास्ता गरेको भन्दै अहिले आफूसँग कुनै सरसल्लाह नगरी केन्द्रबाट गरिएको निर्णय आफूलाई स्वीकार्य नहुने बताएका छन् ।
‘नेपाली कांग्रेसले म र मसँग सम्बन्धित मान्छेसँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावी रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु,’ उनले लेखेका छन्, ‘म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको निर्णयको खण्डन गर्दै सोकाप्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’
उनले पार्टीमा आफूहरुले लामो समयदेखि आन्दोलन गरिरहेको दावी गरे । ‘हामीले पदका लागि मात्रै दावी गरेको होइन, नेपाली कांग्रेस सही बाटोमा आउनुपर्यो भन्ने हाम्रो आन्दोलन हो । त्यो कुरा अहिले देखिएको छैन । सोमबार उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ, हालसम्म मसँग कुनै कुराकानी भएको छैन,’ उनले भनेका छन्, ’अहिले एक्कासी कारवाही फुकुवा भएको भनेर प्रचार गरिएको छ । यस्तो कुरा हामीलाई स्वीकार्य छैन, हाम्रो सहमति छैन ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij