
आइतवार , चैत्र १९, २०७९
बारा, १९ चैत ।
आगामी १० वैशाखमा हुने बारा क्षेत्र नम्बर २ मा उपनिर्वाचनका लागि नेकपा एमाले बाराले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित तीनजनाको नाम सिफारिस गर्ने भएको छ ।
कमिटीले पोलिटव्युरो सदस्य एवं मधेस प्रदेश सह–इन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह र बन्दना सिंहको नाम सिफारिस गर्ने निर्णय गरेको हो । साह एमाले प्रदेश कमिटी सदस्य र सिंह अनेमसंघ बाराकी अध्यक्ष हुन् ।
बारा–२ मा उपनिर्वाचन हुने भएपछि एमालेवृत्तमा पौडेललाई उम्मेदवार बनाउनुपर्ने चर्चा चलिरहेको थियो । २०७० सालमा बारा क्षेत्र नम्बर ६ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका पौडेल त्यसयता चुनाव लडेका छैनन् । उनी सुशील कोइराला नेतृत्वको सरकारमा युवा तथा खेलकुदमन्त्री समेत रहेका थिए ।
पछिल्लो दुई निर्वाचनमा बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि आकांक्षी रहेका पौडेलले टिकट पाएनन् । उनी आकांक्षी रहेको क्षेत्रमा अच्युत मैनालीले उम्मेदवार बने । २०७४ सालमा पराजय व्यहोरेका मैनाली यसपटक नेपाली कांग्रेसका सह–महामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
सप्तरी–२ बाट पराजित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बारा– २ बाट चुनाव लड्ने भएपछि एमालेले हेभिवेट उम्मेदवारका रुपमा पौडेललाई अघि सार्न थालेको हो । उपराष्ट्रपति रामसहाय यादवले एमालेसँगको तालमेलमा सो क्षेत्रबाट चुनाव जितेका थिए । उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।
त्यसै गरी जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार बन्ने निश्चित छ । नेकपा माओवादी केन्द्रका कुशवाहा हालका उपराष्ट्रपति यादवसँग पराजित भएका थिए । उपनिर्वाचनमा माओवादी केन्द्र र कांग्रेसले जसपा अध्यक्ष यादवलाई सघाउने संकेत पाएपछि कुशवाहा जनमत पार्टी प्रवेश गरेर उम्मेदवार बन्न लागेका हुन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल उम्मेदवार बन्ने तयारीमा छन् । काठमाडौं–१ बाट पराजित खरेललाई स्वतन्त्र पार्टीले उम्मेदवार बनाउन लागेको हो । खरेल काठमाडौं १ मा नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए ।
उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा प्रवेश गर्न हेभिवेट उम्मेदवारहरु बारा–२ केन्द्रीत भएपछि चुनाव प्रतिष्पर्धात्मक हुने देखिएको छ । बारा–२ मा स्वतन्त्र उम्मेदवार समेत देखिनेछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij