
बुधवार , चैत्र १५, २०७९
रुपन्देही, १५ चैत ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेता कार्यकर्ताले भाषण भन्दा व्यवहार र आचरण असल बनाउनुपर्ने निर्देशन दिएका छन् । पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तर्गत बुधबार रुपन्देहीको तिलोत्तमामा भएको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा ‘म्बोधन गर्दै ओलीले अहिले जनताले भाषण, विचार सुन्न भन्दा व्यवहार र आचरण हेर्ने भन्दै जनताको मन जित्ने गरी जनतामैत्री असल व्यवहार र आचरण देखाउन निर्देशन दिए ।
ओलीले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरु खराब भए पनि कार्यकर्ताहरु असल रहेकाले दुवै पार्टीका कार्यकर्ताहरुलाई पार्टीमा भित्राउनुपर्ने बताए । ‘माओवादी केन्द्र र नेकपा एस भन्ने पार्टीका नेताहरु कम्युनिष्टका नाममा कांग्रेसकोपछि लागेर कम्युनिष्ट शक्तिलाई सिध्याउन लागेका छन्’–ओलीले भने–‘तर कार्यकर्ताहरु असल छन्, उनीहरुलाई नेतृत्वको भ्रमबाट मुक्त गरेर एमालेमा ल्याई विना भेदभाव उचित जिम्मेवारी दिएर पार्टीलाई बलियो बनाउनुपर्छ ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तत्कालीन राजा ज्ञानेन्द्रसँग मिलेर दलहरुलाई सिध्याउन लागि परेको तर ज्ञानेन्द्रले कु गरेपछि बल्ल गणतन्त्रका कुरा गर्न थालेको उनले टिप्पणी गरे । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल आफ्नै पार्टीको सरकार ढालेर कांग्रेसलाई सत्ता सुम्पिन अदालत धाउनेदेखि पार्टी विभाजनमा लागेको बताए ।
मिसन ग्रास रुटको मिसन अर्को निर्वाचनसम्म वडा तहसम्म एमालेको पक्षमा ५१ प्रतिशत मत पुर्याएर एकल बहुमत ल्याउने रहेको बताए ।
१० दलको गठबन्धन सलह भन्दा बढ्ता हानीकारक भएको आरोप लगाउंदै ओलीले यो सरकार रहेसम्म अर्थतन्त्र सही ट्रयाकमा नआउने दावी गरे ।
ओलीले स्थिरता र स्थायीत्व बिना देश विकास र समृद्ध हुन नसक्ने भन्दै एमालेको बहुमतको सरकार बनाउने अठोट र संकल्पसहित एकल बहुमत हासिल गर्ने गरी अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिए ।
अहिलेको सरकार १० वटा टाला जोडेर बनेको भिजनबिहीन भन्दै ओलीले यस्ताले देश कसरी बनाउँछन् भन्ने प्रश्न गरे । ‘यो सरकार कसको नीतिमा चलेको छ, कांग्रेसको नीतिमा कि माओवादीको नीतिमा ?’–ओलीले भने–‘कि खानका लागि मात्रै हो ?’
रुपन्देहीमा जति भोट ल्याउनुपर्ने हो ल्याउन नसकेको उल्लेख गर्दै ओलीले विष्णु पौडेलको भोट गन्दा छक्क परेको उल्लेख गरे । ‘सबै वडामा ५१ प्रतिशत भोट एमालेको पक्षमा बनाऔं, बहुमत नआउनुपर्ने कुनै कारण छैन । सबै क्षेत्रमा एमालेका नीति, निर्णय काम अरु दलको तुलनामा धेरै अब्बल छन् ।
बालबालिका, युवादेखि वृद्धवृद्धासम्मलाई एमालेले सम्बोधन गरेको छ । एमाले सरकारमा हुँदा युवा देश बाहिर जाने दर १८ प्रतिशतले घटेको र कृषि उतपादन ८ प्रतिशतले बढेको थियो’–ओलीले भने ‘२० वर्षमा नभएका काम एमालेको साढे ३ वर्षको सरकारको पालामा भएका थिए, एमालेले गरेका काम आफू बसेको ठाउँमै उभिएर हेरे देखिन्छ, डांडा चढ्न पर्दैन ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij