२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लिजमा दिएर लुम्बिनीको सभाहल नियमित सञ्चालनमा ल्याउन सुझाव 

आइतवार , चैत्र १२, २०७९

भैरहवा, १२ चैत । 
प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनीमा रहेको अन्तर्राष्ट्रिय सभाहललाई नियमित सञ्चालनमा ल्याउन निजी क्षेत्रलाई लिजमा दिनुपर्ने बताएका छन् । शनिबार लुम्बिनी भ्रमणको क्रममा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा उनले निजी क्षेत्रलाई लिजमा दिएर सभाहललाई नियमित रुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । 

लुम्बिनी विकास कोषले अहिलेको अवस्थामा सभाहललाई सञ्चालनमा ल्याउन कठिन रहेको बताउँदै सांसद घिमिरेले निजी क्षेत्रलाई लिजमा दिँदा एकातिर कोषको आम्दानी बढ्ने र अर्कोतिर लुम्बिनीको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने स्पष्ट पारे । ‘लुम्बिनी विकास कोषको मर्म र भावनाविपरीत नहुने गरी स्पष्ट मापदण्ड बनाएर निजी क्षेत्रलाई लिजमा सभाहल सञ्चालन गर्न दिँदा अन्तर्राष्ट्रिय स्तरका ठूला—ठूला कार्यक्रमहरु लुम्बिनीमा हुनेछन् ।’ सांसद घिमिरेले भने, ‘यसो गर्न सके लुम्बिनी घुम्न आउने पर्यटकको संख्या पनि बढ्नेछ ।’     

उनले यो विषयमा आवश्यक पहलकदमी लिइदिन पूर्वप्रधानमन्त्री ओलीलाई आग्रह गरे । नियमित सञ्चालन नआउँदा सभाहलको सञ्चालन खर्च व्यवस्थापनमा समेत कठिन हुन सक्नेतर्फ उनले ध्यानाकर्षण गराए । 

336914602_1230593607571744_6963311079964246043_n.jpg

२०७४ सालको बुद्ध जयन्तीका दिन हावाहुरी र झरीले कार्यक्रमस्थल भत्काएपछि कार्यक्रमका प्रमुख अतिथि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँ बेला ५ हजार जना क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल लुम्बिनीमा बनाउने घोषणा गरेका थिए । २०७५ वैशाख १७ गते बुद्ध पूर्णिमाका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभाहलको शिलान्यास गरेकी थिइन् । सभाहलको गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेतको सहभागीतामा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । 

सभाहलमा ध्यान केन्द्र १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउण्डेशनमा निर्माण गरिएको छ । फाउण्डेशमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ । ८ हजार ३ सय वर्गमिटर क्षेत्रमा रहेको सभाहललाई बन्द राख्न चारैतिरबाट चाइनिज इँटाको पर्खाल लगाइएको छ । 

छाता शैलीको हलमा ध्यान केन्द्रको छाना गर्मीमा चिसो र चिसोमा तातो हुने प्रविधिको राखिएको छ । ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने प्यानल प्रयोग गरिएको छ । साउण्ड प्रुफ छत छ । असिनापानीको आवाज आउँदैन । हलको भुइँमा चार वर्गमिटरको ब्लक बनाएर मोज्याक बिछ्याइएको छ । एक जनाका लागि एक वर्गमिटर स्पेस छुट्याइएको छ ।