२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

स्ववियु निर्वाचन : रुपन्देहीका ६ क्याम्पसमा अनेरास्ववियु र नेविसंघको बराबरी

सोमवार , चैत्र ६, २०७९

  • 2.4K
    Shares
  • 2.4K
    Shares
  • रुपन्देही । रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पसमध्ये अनेरास्ववियु र नेविसंघले बराबरी संख्यामा जितेका छन् । १२ क्याम्पसमा स्ववियु निर्वाचनको लागि संगठन दर्ता भएपनि ६ वटामा संगठनहरुबीचको विवादका कारण रोकिएको छ ।

    नतिजा सार्वजनिक भएका क्याम्पस मध्ये बुटवल बहुमुखी क्याम्पस, देवदह आदर्श क्याम्पस र हरैया बहुमुखी क्याम्पसमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् भने सियारी ४ छपियास्थित लीलाधर घिमिरे छपिया जनता कलेज, सैनामैनाकाे रामापुरस्थित सहिद नारायण पोखरेल क्याम्पस र सुद्दाेधनकाे  फर्साटिकरस्थित यज्ञोदय दूधनाथ थारु क्याम्पसमा नेविसंघका उम्मेदवार विजयी भएका हुन् ।

    यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका दुर्गाबहादुर एमसी निर्वाचित भएका छन् । उनले अखिल क्रान्तिकारीका शिवबहादुर खवासलाई पराजित गरेका हुन् । यहाँ अनेरास्ववियुलाई छैटौँले साथ दिएको थियो । अन्य ६ वटा संगठन एकल लडेका थिए ।

    त्यसैगरी देवदह आदर्श क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी भएको छ। कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी भएका छन्। हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ र लोकतान्त्रिक विद्यार्थी संघको संयुक्त प्यानल बनेको थियो।

    सियारी गाउँपालिकाको लीलाधर घिमिरे छपिया जनता कलेजको स्वविय अध्यक्षमा नेपाल विद्यार्थी संघका अभिषेककुमार यादव विजयी भएका छन्। फर्साटिकरको यज्ञोदय दूधनाथ क्याम्पसमा महेश चौधरी विजयी भएका छन्। त्यसैगरी सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसंघकै मनोज बेलबासे विजयी भएका छन्। यहाँ नेविसंघले अखिल क्रान्तिकारी, अखिल विप्लव र अखिल समाजवादीसँग मिलेर चुनाव लडेको थियो।

    अब निर्वाचन हुन बाँकी रहेका ६ वटा क्याम्पसमध्ये भैरहवा बहुमुखी र पक्लिहवा कृषि  क्याम्पसमा ८ गते मिति तोकिएको छ भने लुम्बिनी वाणिज्य क्याम्पस, राममणि क्याम्पस, सिद्धार्थ क्याम्पस,  क्याम्पसको मिति टुंगो लागेको छैन ।