
आइतवार , माघ २९, २०७९
तिलोत्तमा, २९ माघ ।
देवदह नगरपालिकाको कृषकहरुको संस्था साना किसान कृषि सहकारी सस्था लिमिटेड देवदहले संस्थामा संलग्न कृषकहरुलाई हिउँदे तरकारी बालीको बेर्ना वितरण गरेको छ । साना किसान कृषि सहकारी सस्था लिमिटेड देवदहले आइतबार कृषकहरुलाई आफ्नै कार्यालयमा बोलाएर हिउँदे तरकारीको बिउ तथा बेर्ना बितरण गरेको हो । संस्थाका सदस्यहरुलाई २ वटा निःशुल्क र अन्य विरुवामा सहुलियत तथा गैरसदस्यलाई ५० प्रतिशत सहुलियतमा कृषकहरुलाई हिउँदे तरकारी बालीको बिउ तथा बेर्ना वितरण गरिएको थियो ।
कृषकहरुको आत्मनिर्भरता र तरकारी विक्री तथा उत्पादनबाट आर्थिक आयस्रोतमा वृद्धि होस् भन्ने उद्देश्यका साथ विभिन्न थरीका हिउँदे तरकारी बालीको बिउ वितरण गरिएको साना किसान कृषि सहकारी संस्था लिमिटेड देवदहकी अध्यक्ष टिका न्यौपानेले जानकारी दिइन् । उनकाअनुसार लौका, खरभुजा, काँक्रा, करेला, बोडी, भिण्डी, फर्सी र खुर्सानी लगायतका बेर्ना गरी १० थरीको हाईब्रेड तथा लोेकल जातका हिउँदे तरकारीको बिउ वितरण गरिएको हो ।
‘कृषकहरुले निःशुल्क रुपमा पाएको तरकारीको बिउबाट धेरै भन्दा धेरै तरकारी उत्पादन गरी आर्थिक लाभ लिन अध्यक्ष न्यौपानेले आग्रह समेत गरिन् । ‘प्रविधियुक्त खेती प्रणालीमा जबसम्म किसानहरु जान सक्नु हुँदैन तबसम्म सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा पुग्न कठिनाई हुन्छ’ उनले भनिन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij