२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

शिक्षक सरुवा र नियुक्तिमा मनपरी भएको भन्दै गाउँपालिकालाई ध्यानाकर्षण 

आइतवार , पौष १२, २०७७

गुल्मी, १२ पुस ।
नेपाल शिक्षक संघ मालिका गाउँपालिका गुल्मीले मालिका गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार मालिका गाउँपालिकाले शिक्षाको दरबन्दी थपघट गर्ने, राजनीतिक आस्थाको आधारमा शिक्षकको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघले प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

मालिका गाउँपालिकाको गाउँ शिक्षा समितिबाट कार्यदलको सुझावविपरीत एकपक्षीय रुपमा शिक्षाको दरबन्दी थपघट गर्ने, राजनीतिक आस्थाको आधारमा शिक्षकको सरुवा गर्ने र नियुक्ति गर्ने काम भएकोले शिक्षक संघको गम्भिर ध्यानाकर्षण भएको भन्दै ध्यानाकर्षणपत्र बुझाइएको नेपाल शिक्षक संघ जिल्ला कार्य समिति गुल्मीका सह–सचिव वासुदेव घिमिरेले जानकारी दिए  । 

गाउँपालिकाभित्र रहेका विद्यालयमा सरुवा हुनको लागि राजनीतिक पाटी प्रवेश गर्नैपर्ने, टिका लगाउनैपर्ने भन्दै शिक्षक संघ मालिका गाउँपालिकाले आपत्ति जनाएको थियो । ज्ञापनपत्र बुझ्दै मालिका गाउँपालिकाले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्दै  गाउँपालिकाका शिक्षक संघका ९५ प्रतिशत माग पुरा गर्दै आएको मालिका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले जानकारी दिए ।

गाउँपालिकामा नेपाल शिक्षक संघले गरेको माग स्वाभाविक भएकाले  गाउँपालिकामा शिक्षाको गुणस्तर खस्केको गुनासो चारैतिरबाट आएकाले सबै शिक्षकहरुलाई आफ्नो पेशागत मर्यादामा काम गर्न प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।

शिक्षकहरूको मागलाई सम्बोधन गर्दैै गाउँपालिका अध्यक्ष रीत बहादुर थापाले शिक्षाको क्षेत्रमा कुनै राजनीतिक रंग नमिसिएको र राजनीति नगर्न समेत सबै शिक्षकहरूलाई आग्रह गरेका छन् ।