
शुक्रवार , माघ २०, २०७९
तिलोत्तमा, २० माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ स्थित दुर्गानगरका २ कृषक समूहले तरकारी खेतीसम्बन्धि पाँचदिने तालिम सम्पन्न गरेका छन् । तिलोत्तमा नगरपालिका कृषि शाखाको प्राविधिक सहयोगमा सुर्य किरण तरकारी उत्पादन कृषक समूह र श्री नवदुर्गा तरकारी उत्पादन कृषक समूहको आयोजनामा ६० बढी कृषकलाई तालिम दिइएको कृषि शाखा प्रमुख कृषि अधिकृत दोमलाल भुसालले जानकारी दिए ।
माघ १५ गतेदेखि १९ गतेसम्म आयोजित तालिममा विज्ञका रूपमा अधिकृत दोमलाल भुसाल र रामप्रसाद खनालले सहजीकरण गरेका थिए भने कृषिसम्बन्धि विज्ञका रूपमा तेज नारायण गैरे, प्राविधिकहरु अस्मिता ज्ञवाली र बिन्दु रायमाझीले सहयोग गरेका थिए ।
तालिमका बारेमा बोल्दै प्रशिक्षार्थी कृषक रेणु थारु र कुशल भण्डारीले तालिम धेरै प्रभावकारी भएको र अब व्यवहारमा लागू गरे मात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए । तालिमको अवधिमा धेरै प्राविधिक कुरा सिक्न पाएको भन्दै आर्थिक वर्षको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए ।
तालिमले कृषकको उत्पादन रुचीमा अझै आत्मविश्वास बढाएको र प्राविधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न वक्ताहरुले आग्रह गरेका थिए ।
सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कृषक समुहका उपाध्यक्ष नरिश्वर सापकोटा, टोल संजालका अध्यक्ष देव बहादुर बगाले, शैक्षिक सुधार समितिका संयोजक श्याम खरेल, समाजसेवी तथा कृषक टीकाराम पाण्डे, कृषि विज्ञ तेज नारायण गैरे, कृषक समूहका कोषाध्यक्ष शान्ता खरेल लगायतले बोल्दै तालिमले प्रविधिमय कृषिका लागि कृषकमा नयाँ उर्जा थपेको बताएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij