२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा तीनदिने जलवायु सम्मेलन हुँदै

कृषिमा खाद्य सुरक्षा र संरक्षणका लागि जलवायुको परिवर्तन र यसको अनुकूलता विषयमा केन्द्रीत

सोमवार , माघ १६, २०७९

भैरहवा, १६ माघ ।
कृषिमा खाद्य सुरक्षा र संरक्षणका लागि जलवायुको परिवर्तन र यसको अनुकूलता विषयमा केन्द्रीत रहेर भैरहवामा तीनदिने जलवायु सम्मेलन मंगलबार (भोलि) देखि भैरहवामा हुने भएको छ ।

माघ १७ गतेदेखि त्रिभुवन विश्वविद्यालयको कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा कृषि क्याम्पस भैरहवामा अन्तर्राष्ट्रिय जलवायु सम्मेलन २०२३ आयोजना हुने कार्यक्रम संयोजक अविचल जंग केशीले बताए । सम्मेलनमा नेपालसहित एसियाका अन्य ६ देश सहभागी हुनेछन् ।

भारत, ताइवान, बंगलादेश, श्रीलंका, इण्डोनेसिया र दक्षिण कोरियाका प्रतिनिधिहरु सम्मेलनमा सहभागी हुने आयोजकले जनाएका छन् । १४ वटा कृषि क्याम्पसका ६० बढी प्रतिनिधि सहभागी हुनेछन् ।

नेपालका विभिन्न क्षेत्रमा रहेका जलवायुसम्बन्धि काम गर्ने वक्ताहरू, यस संस्थामा आबद्ध रहेका विद्यार्थीहरू, अन्तर्राष्ट्रिय सहभागीहरू, कृषि संकायमा अध्यापन गराउने शिक्षक, प्राध्यापक एवं अन्य संघ–संस्थामा आबद्ध भएका व्यक्तिहरूको उपस्थिति रहने आई.ए.एस.एल.सी., पक्लिहवाका लोकल डाईरेक्टर बिविसा तिमिल्सीनाले जानकारी दिइन् ।

जलवायु परिवर्तनको चिन्तनलाई सफलतापूर्वक सम्बोधन गर्नका निम्ति कार्यक्रमको आयोजना गरिएको बताइएको छ । आई.ए.ए.एस्, कृषि, पशु विज्ञान तथा कृषि इञ्जिनियरिङ क्षेत्रमा कार्य गर्ने संस्था हो । जलवायु परिवर्तनले कृषि क्षेत्र तथा खाद्य सुरक्षामा पारेको असरबारे बहस गरिने आयोजकको भनाइ छ ।