२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

कोरोनाबाट प्रभावित भएका पत्रकारलाई स्वरोजगार दिन्छौ : अध्यक्ष आचार्य

सोमवार , पौष ६, २०७७

अर्घाखाँची, ६ पुस ।
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकारहरुको आचारसंहिता पेशागत सम्झेर पालना गर्न सम्पूर्ण पत्रकारलाई आग्रह गरेका छन् । पछिल्लो समय कोभिड–१९ ले मिडिया क्षेत्रमा प्रत्यक्ष असर पारेको भन्दै केही पत्रकारले जागिर नै गुमाउनुपरेको र केही पत्रकारले तलब नपाएको समयमा यसमा पटकपटक महासंघले आवाज उठाउँदै आएको आचार्य बताए ।

अर्कोतर्फ क्रियाशील रुपमा पत्रकारिता गरेका आफ्नो दैनिकी सोही पेशाबाट चलाएका र कोभिड–१९ को प्रभावले जागिर छुटेका पत्रकारलाई महासंघले विभिन्न विषयबस्तुमा समाचार लेख्न लगाएर तत्कालको लागि स्वरोजगार कार्यक्रम निवेदनको आधारमा दिने बताए ।

पत्रकार आचारसंहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव विषयक अन्तरक्रिया कार्यक्रमलाई सन्धिखर्कमा सम्बोधन गर्दै अध्यक्ष आचार्यले कोरोनाको समय अवधिमा उत्कृष्ट समाचार संकलन गर्ने प्रत्येक प्रदेशबाट ३ जनालाई पुरस्कार प्रदान समेत गरिने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झपेन्द्र भुसालले सबै पत्रकार र सञ्चारमाध्यमले आचारसंहिता पालना गर्नुपर्ने बताए । कार्यक्रममा अर्घाखाँचीका क्रियाशील पत्रकारले कोरोनाले पारेको प्रभावबारे आफ्ना जिज्ञासा समेत राखेका थिए ।