२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

कृषिलाई प्राथमिकता दिन्छौैं : गृहमन्त्री खाँण

शनिवार , कार्तिक १२, २०७९

भैरहवा, १२ कात्तिक ।
गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीमा पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्यसँगै कृषि क्षेत्रमा पनि प्रचुर सम्भावना रहेको उल्लेख गर्दै सरकारले यहाँको कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पाँचदलीय गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले गहुुँको सिजनमा मल अभाव हुन नदिने गरी नेपाल सरकारले भारत सरकारसँग जीटुुजीमार्फत रासायनिक मल खरीद प्रक्रिया अगाडि बढाएको जानकारी दिए । दीर्घकालीन रुपमै मलको अभाव हुुन नदिन सरकारले स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्ने योजना समेत अगाडी बढाएको उनले बताए । 

गठबन्धनद्वारा भैरहवा र ओमसतियामा आयोजित कार्यक्रममा बोल्दै उनले रुपन्देहीको कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सरकारले सेमलारमा देशकै ठुलो कृषि थोक हाटबजार संकलन तथा विक्री केन्द्र स्थापना गर्न लागेको बताए । उनले कृषि थोकबजार स्थापना पछि यहाँ तरकारी तथा फलफुुलजन्य वस्तुको उत्पादन बढ्ने त्यसलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो प्रयोग गरी विदेश निर्यात गर्न सकिने उल्लेख गरे । मन्त्री खाँणले यसबाट हजारौ रोजगारी सिर्जना हुने भन्दै उनले भविष्यमा रुपन्देही रोजगारीको केन्द्र समेत बन्ने दावी गरे । 

त्यस्तै आफू सिचाई मन्त्री हुँदा जिल्लामा सिचाईका लागि जनताको तटबन्धन, स्यालो ट्युुवेल जडान जस्ता कार्यक्रम ल्याएको स्मरण गराउदै भविष्यमा पनि कृषि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माण गर्न केन्द्र सरकारबाट बजेट ल्याउन पहल गर्ने उनले प्रतिबद्धता जनाए ।   

गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा उम्मेदवार एवं पूर्व मन्त्री सन्तोस कुमार पाण्डेयले विकासका लागि धर्म, जात, भाषा, क्षेत्रीयता भन्दा माथि विकासप्रेमी नेतालाई विजयी बनाउन आग्रह गरे ।