images

बुधवार, बैशाख ५ गते २०८१

प्यूठानको प्यास मेटिएन

प्यूठानको प्यास मेटिएन

images
images
images
मंगलवार, आश्विन १८ २०७९
मंगलवार, आश्विन १८ २०७९
  • प्यूठानको प्यास मेटिएन

    - ऋषि आजाद

    images
    images
    images

    हामीलाई प्यूठान जाने निम्तो आयो । साहित्य परिषद् प्युठानका अध्यक्ष साहित्यकार नवराज आचार्य तथा लुम्बिनी वाङमय प्रतिष्ठान प्युठान शाखाको अध्यक्ष साहित्यकार रामकुमारी कुुँवर (सानु) अनि साहित्यकार देवेन्द्र रिजालले तारन्तर फोन गरिरहे । लुम्बिनी वाङमय प्रतिष्ठानका सबै सदस्यहरु र जिल्ला अध्यक्ष लगायत अरुलाई पनि निम्तो थियो । दशैंको मुखमा भएर होला सायद धेरै साथीहरु सूचना पाएर पनि निमन्त्रणा भएको ठाउँमा पुग्न सक्नु भएन । भैरहवातिरबाट साहित्यकार जान चाहनुभएको थियो । तर उचित संयोजन हुन सकेन । 
    प्युठानमा ११, १२, १३ गते बृहद साहित्य÷संगीत महोत्सव थियो । महोत्सवमा मुलुकभरका लब्धप्रतिष्ठित साहित्यकारहरुको भेला थियो ।

    महोत्सवको नारा : 
    साहित्य कला संस्कृति र पर्यटनको विकास 
    साहित्य परिषद प्युठानको जीवन्त इतिहास । भन्ने थियो ।

    आयोजक संस्थामा साहित्य परिषद प्यूठान र नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र नेपाल संगीत तथा नाट्य कला प्रतिष्ठान काठमाण्डौ राखिएको थियो । आर्थिक, नैतिक र भौतिक सहयोग जिल्ला समन्वय समिति र प्यूठान र नौवटै स्थानीय पालिकाको समान योगदान रहेको थियो ।

    तीनदिने साहित्य, कला र संस्कृतिको वृहद कार्यक्रम रहेछ । कार्यक्रमको विवरणमा पहिलो दिन प्रसिद्ध धार्मिकस्थलमा स्वर्गद्वारीमा कार्यक्रमको उद्घाटन रचना वाचन, प्रवचन, पुस्तक लोकार्पण र झाँकी प्रदर्शन थियो । दोस्रो दिन पर्यटकीय स्थलको परिभ्रमण अनि बाँधीकोट र ओखरबोटमा रचना वाचनको थियो । तेस्रो दिन प्यूठानको प्रसिद्ध मल्लरानी पर्यटनस्थलको जानकारी र जनतामा मावि वाग्दुलामा कविता प्रतियोगिता, प्रवचन सम्मान र समापन कार्यक्रम थियो ।

    म १२ गते बिहान १० बजे मात्र हिंडें । वातावरण अलि राम्रो छ ।गृष्मकालीन प्रभाव हटिसकेको छ । दशैंको मुखमा आवागमनको चाप ज्यादा छ । यातायातका साधनहरु सडकमा किम्ला बगेझै बगेका छन् । दशैं मान्न घर फर्कनेहरु बस नपाएर कोचाकोच भएर हिंडेका छन् । काखमा नानी बोकेर हिंड्नेहरु, वृद्धवृद्धाहरु अलि मलिना देखिन्छन् । चालक सह–चालकहरु नाफा कमाउने ध्याउन्नमै छन् । ट्राफिक प्रहरीलाई नियमन गर्न हम्मेहम्मे परेको छ ।

    म बिहान १० बजे झोलुङगेपुलबाट पश्चिम महेन्द्रनगर जाने बसमा चढें । बसमा संयोगबस एउटा सिट बाँकी रहेछ । गाडी चालक सह–चालकहरुले दुई घण्टामै लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङ्ग पु¥याए । त्यसपछि म प्यूठान बाग्दुला जाने माइक्रोबसमा चढें । यात्रा सोंचेजस्तो त्यति असहज भएन । म निरन्तर नवराज आचार्यको सम्पर्कमा रहिरहेको थिएं । समयसमयमा दामु मर्सिफुलको फोन पनि आइरहेको थियोे । म ठीक ४ बजे प्यूठानको बाग्दुलामा पुगें । दुई दिनको काममा पुग्न नसकेकोमा दुखी थिए । त्यसै बीच अध्यक्ष नवराज आचार्यले खलङ्गा बोलाउनुभयो । 
    विज्वारबाट खलङ्गाको दृश्य गजबको देखिन्छ । शारदी शोभाले प्रकृति मनोहर बनेको छ । खलङ्गा प्यूठानको सदरमुकाम हो । डाँडाभरि तलदेखि माथिसम्म लहरै परेका स्वेत सुन्दर घरहरुले खलङगालाई मनोरम बनाएका छन् । प्यूठान प्राकृतिक सौन्दर्यले भरिपूर्ण र परिपूर्ण छ । मैले तलबाटै मोबाइलमा केही फोटाहरु कैद गरें । अध्यक्षको सल्लाहमा बाग्दुलाबाट म फेरि अर्को टेक्सी चढें । वास्तवमा अहिले नेपालमा पूर्वाधारको राम्रो विकास भएको छ । प्युठान पनि सुगम बनेको छ । पक्की बाटाहरु पनि थुप्रै बनेका छन् । सेवामूलक व्यवसायीहरुको संख्या थुप्रो छ । क्याम्पस, विद्यालय, अस्पतालहरु छन् । गाउँ गाउँमा सभ्यता मौलाएको छ । लबाई खवाई आनको तान बदलिएको छ । सूचनाको विकेन्द्रीकरणले सबै सचेत छन् । सबैका हातहरुमा मोबाइल फोनहरु छन् । पूर्वाधार र प्रकृति हेर्दै हेर्दै म खलङगा पुगें । खलङ्गामा जिल्ला सदरमुकाममै सुविधा सम्पन्न अतिथिगृह छ । हामी त्यही बस्यौं । मलाई विशेष ख्याल गर्ने साहित्यकार तथा पत्रकार दामु मर्सीफूल र कविता उपाध्याय साहित्यकार खेमराज शर्माका साथ आइसक्नु भएको रहेछ । म र खेमराज शर्मासँगै बस्यौं । उनी निकै भलाद्मी रहेछन् ।

    म जाँदा कार्यक्रमको गोलमेच बसाईमा समीक्षा चल्दै रहेछ । यति लामो धेरैले भन्दै थिए । कार्यक्रममा झिना मसिना त्रुटि त भइहाल्छन् । समीक्षामा अवसर नपाउनेहरुले नराम्रो भन्छन् । अवसर पाउनेहरुले राम्रो भन्छन् । तीन–तीन दिनसम्म कुलुकभरका दर्जनौं साहित्यिक अतिथिदेवहरु र स्थानीय साहित्यकारले आफूलाई र आफ्नो प्रतिभालाई प्यूठानको काखमा राम्रोसँग पोख्ने अवसर पाए । प्यूठान आभारी भयो । काव्य कलामा पोख्त स्रष्टाहरुले आफूलाई स्थानीयस्तरसम्म चिन्ने चिनाउने अवसर पाए । कार्यक्रम भव्य रुपमा सफल भयो । कहिलेकाहीं समीक्षाको क्रममा अवसर नपाउनेहरुबाट कार्यक्रमको आम उपलब्धीलाई भन्दा गौण कुरालाई उछालेर कुखुरा भुत्ल्याएझै भुत्लाउने गरिन्छ । तर त्यहाँ त्यस्तो भएन । त्यहाँ सूचना सम्प्रेषण, दिशानिर्देश, समयको ख्याल अलिअलि नगरेको निष्कर्ष निकाल्दै आम रुपमा कार्यक्रम असाध्य राम्ररी सफल भएको निष्कर्ष निकालियोे ।

    मेरो घर अर्घाखाँचीको मलारानी हो । म १३ गते बिहान म मालारानीको सन्देश लिएर मल्लरानीमा पुगेको थिएं । करिब १५ सय मिटरमाथिको पर्यटकीयस्थल मल्लरानी पाटनजस्तो रहेछ । उक्त उच्चसमस्थलीमा पुगेर उत्तरमा धवलागिरी हिम श्रृङखला, माछापुछ्र्रे हिमश्रृङखला पश्चिममा प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी, पूर्वमा सेंगलेनसम्म हेर्याैं । झिमरुक फाँट प्यूठानको अन्न भण्डार हो । यो प्यूठानको भाग्य हो । अहिले शारदी शोभाले प्यूठान दुलहीजस्तै सिंगारिएको छ । धान पाकेर झिमरुक फाँट पहेंलपुर देखिन्छ । प्युठान हेर्दा स्वर्गजस्तो लाग्छ । अहिले प्यूठानेहरु डाँडापाखाबाट घरजम गर्न त्यही फाँटमा झरेका छन् । बजार हर्लक्क बढेको छ । घरहरु बनिरहेका छन् । त्यहाँ अर्घाखाँची गुल्मीमा जस्तो बसाईसराई अलि कम रहेछ । तर नयाँ पिढी भने सहर पसिसकेको छ । त्यो प्यूठान फर्कने सम्भावना देखिदैन ।

    प्युठानेहरु रसिक र प्रकृतिप्रमी पनि छन् । कुनै प्रकारको शंकोच नमानी खुलेर हाँस्छन् । संगीतप्रेमी छन् । गीत गायो कि छमछमी नाँच्छन् । साहित्यमा साधना गर्छन् । कला संगीतप्रति उस्तै अभिरुचि छ । कल्पना शक्तिका धनी छन् । प्रतिभाशाली छन् । व्युत्पत्ति र अभ्यासमा तल्लीन छन् । सुखी र खुसी छन् । आहा प्यूठान ! मेरो मन खुसीले उत्फुल्ल भयो ।लुम्बिनी बौद्ध विश्वविद्यालयका अनुसन्धान विभाग प्रमुख प्यूठान जिल्लाको गर्विलो व्यक्तित्व प्रा.डा. गितु गिरीले नेपाली र अंग्रेजी भाषामा दर्जनौं कृतिहरु प्रकाशित छन् । सरलता र विनम्रताका धनी गितु गिरी प्यूठानका सान हुन् । उनले मल्लरानीको ऐतिहासिक, साँस्कृतिक, पौराणिक  र पुरातात्विक किंवदन्ती र अवशेष त्यति भेटिदैन । त्यसको थप खोज अनुसन्धानमा जुट्नु पर्छ भने । कुनै पनि ठाउँको विषयमा किंवदन्तीको झिनो तन्तु भेटियो भने त्यसैको आधारमा तन्तुलाई तन्काउँदै अलिअलि कल्पनाको जलप लगाएर मांशपेशी भरेर चित्ताकर्षक र विश्वसनीय बताउँदै किंवदन्ती तयार पारेर त्यहाँ आउने पर्यटकहरुलाई सुनाउनुपर्छ । मल्लरानीको खोज हुनुपर्छ । हामीले सुझाव दियौं । मल्लरानीको सन्दर्भमा आफूसँग केही जानकारी नरहेको तर काँत्रेखोलको सिरम झाँक्री र डल्ले सरायं बारेमा अलिकति खोज अनुसन्धान गरेको कुरा फोनबाट संस्कृतिविद राजेन्द्रकुमार आचार्यले बताए । उनले पनि श्रोत व्यक्ति गितु गिरी नै रहेको बताए ।

    मल्लरानी उच्च समस्थली जस्तो छ । त्यहाँबाट पूर्वपश्चिम उत्तर दक्षिण चियाएर हेर्न सजिलो छ । त्यो आफैमा भ्यूटावरजस्तो छ । त्यसमा भ्यूटावरको नयाँ संरचना बनाउनुपर्दैन । नेकपा एमालेको सरकार बन्दा भ्यूप्वाएन्टहरुमा अग्ला अग्ला भ्युटावरहरु बनेकोमा जनताले त्यसो नगर्न सुझाव दिएका थिए । अहिले मल्लरानी गाउँपालिकाले मल्लरानीको डीपीआर बनाएको रहेछ । पुरानो जीर्णप्राय मन्दिर छ । त्यहाँ जनमुक्ति सेनाले तयार पारेको बङकर रहेछ । त्यसलाई अलि व्यवस्थित गरेर दश वर्षे जनयुद्धको स्मृतिको स्वरुपमा राख्ने र युद्ध संग्राहलय बनाएर पर्यटन तान्ने योजना बनाउन सकिन्छ । अन्य एन्टिसीको टावर लगायत केही ससाना संरचनाहरु छन् ।जिल्ला सदरमुकामबाट त्यहाँ धेरै जाँदा रहेछन् । हामी पनि अध्ययनको सिलसिलामा पुग्यौं । प्रकृति अत्यन्तै सुन्दर छ । 
    हामी मल्लरानीबाट हाँस्दै गाउँदै मरन्ठानामा पुग्यौं । मरन्ठना गीतु गिरीको जन्मथलो हो । त्यहाँ एउटा भूमेश्वरी कोट रहेछ । भूमिश्वरी दुर्गा भवानीको नाम हो । त्यहाँ हातहतियार रहेछन् । विशेषतः कला क्षेत्रका धनी रामहरि थापाको योगदान विषय जानकारी भयो । त्यहाँ भीमबहादुर घर्तीमगर नामक मगर पुजारी रहेछन् ।

    मगर पूजारी हुनु पनि खुसीकै कुरा हो । त्यहाँबाट पूर्व मरेङ्ग भन्ने गाउँ पनि रहेछ । मरेङ मगर भाषाको शब्द हो । मेरो पूर्व गाविसको नाम पनि मरेङ्ग हो । त्यो सुनेर मलाई अरुण खोलालाई बटारेर अरुणखोला बनाएझै शब्दहरु बटार्ने र बिगार्ने कुराको याद आयो । संस्कृतिविद् गितु गिरीले इतिहास जस्ताको तस्तै राख्नु पर्छ । यो त्यहाँ मगरबस्ती भएको प्रमाण हो । बटार्नु बिगार्नु हुँदैन भने । भूमिश्वरी मन्दिरको अध्यक्ष सूर्यबहादुर थापाले पनि त्यहाँको विषयमा बताए । त्यसपछि हामी भादेश भुमरीको घरमा पुग्यौं । उनले सबै अतिथिदेवहरुलाई खीर खुवाएर स्वागत गरे । साथमा प्यूठान लुङका प्राज्ञ प्रतिष्ठानका प्राज्ञ गोपिन्द्र पौडेल पनि थिए । प्यूठानको भाषा, साहित्य, कला, संगीत, संस्कृति क्षेत्रको विकासको लागि हुररुक्क हुने उनलाई प्यूठानीहरु अत्यन्त आदर र सम्मान गर्दा रहेछन् । यो कार्यक्रममा उनले निकै महत्वपूर्ण श्रोत व्यक्तिको रुपमा काम गरेको देखियो । उनी पनि प्युठानको शान चम्काउने महत्वपूर्ण व्यक्ति हुन् ।

    बाटामा हामीहरु साहित्येत्तर कुराहरु पनि गर्दै हिंड्यौं । देवेन्द्रकुमार रिजाल परिवर्तनले सही बाटो लिन नसकेको भन्दै अलि टाठो संवाद गरे । हाम्रो नेपाली समाज विविधतापूर्ण छ । विविधताहरु बीच सहअस्तित्व, समानता, स्वतन्त्रता कायम गरेर उनीहरुलाई पहिचान र आत्मसम्मान दिएर राष्ट्रिय मूलधारमभा हिंडाउनुपर्छ भन्ने निष्कर्षमा पुगियो । अब एकमा एकता होइन अनेकतामा एकता ल्याउने संघीय लोकतान्त्रिक प्रणालीलाई कम खर्चिलो र चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुरा आयो ।

    त्यो समयमा खीर खाँदै रमाउनेहरुमा युवराज नयाँघरे, डा.धनप्रसाद सुवेदी, ठाकुर बेल्बासे, कविता उपाध्याय, दामु मर्सिफूल, कृष्णराज अधिकारी, निमबहादुर थापा, भीम रानाभाट, शारदा शर्मा, नारायण मरासिनी, मनु विक, अर्जुनकुमार कक्षपती, विजयराज आचार्य, हरि पोखरेल, गेहराज थापा, छविलाल कोपिला, रेशम बिसी, वैरागी जेठा, लक्ष्मी रिजाल, गेहराज शर्मा पण्डित, विमल पोखरेल, समीर सिंह, विष्णुप्रसाद आचार्य, आविष्कार कला, ध्रुव बस्याल, हेमराज आश्रम, लिला खनाल, विमला खनाल, शान्ता आचार्य, भेषमान गिरी, मोहन गिरी, टोपराम आचार्य, टिकाराम उदासी, भावेश भुमरी, दीपा खत्री, अनिल श्रेष्ठ, मदन खत्री, प्रबल्ला सिन्धुलियालगायतका साहित्यकारहरु थियौं ।

    त्यो दिन वास्तवमाखानाको सवालमा पनि जातीय विशिष्टता हुन्छ । थारु गाउँमा जाँदा थारुहरुको व्यन्जन घोंगी खाएर, बाहुन गाउँमा बाहुन जातिको व्यन्जन खीर खाएर मगर गाउँमा मगर जातिको व्यन्जन बंगुरको मासु खाएर,नेवार गाउँमा राँगाको सुकुटी खाएर एक अर्काले सम्मान गर्नुपर्छ । कसैको खानालाई कसैले घृणा गर्नु असहिष्णु बन्न हुँदैन भन्नेसम्मका मिहीन कुरा आए । एकआपसमा मिल्न एकअर्कालाई चिन्न र सहिष्णु सिक्नुपर्छ । त्यसले समाजलाई अखण्ड बनाउँछ । समाज शान्त बन्छ ।

    कहिले हाँसो त कहिले हल्का गम्भीर हुँदै हामी १२ बजे बाग्दुलामा झ¥यौं । बाग्दुला व्यस्त बजार हो । यातायताका दृष्टिले सुगम भएकोले  मानिसहरुको आवागमन बाक्लै हुुन्छ । त्यहाँबाट मच्छी, गौमुखीतिर गइन्छ । त्यो बाटो ओखरबाट तिलकराम पोखरेल मामा र चुँदाराको दिदी विष्णु पोखरेलको घरमा जाँदा हिंडेको छु । बाग्दुलाको नाम कसरी रहेको हो, त्यसको विषयमा पनि छलफल चलाउनु पर्छ । निश्चय नै बाग्दुला बाघको दूलो भएर नाम रहेको होला । त्यहाँ त्यस्तो कुन ठाउँमा छ, त्यस ठाउँमा अलि चौडा र आकर्षक खालको बाघको ओडार (दुलो) र बाघको सुतिरहेको प्रतिमा राख्ने र त्यसको वरिपरि सानो पार्क बनाएर बाउण्डरी गरी पर्यटनयुक्त स्थल बनाउनुपर्छ भन्ने लाग्यो । त्यसले हराउँदै जान लागेको बाघ प्रजातिको इतिहास जोगिन्छ । अनि त्यसलाई प्रवेशद्वारमा अलिअलि प्रवेश शुल्क लिएर रोजगार दिन र संस्थागत गर्न सकिन्छ ।

    अब प्यूठानको महत्वपूर्ण ऐतिहासिक विद्यालय जनता उच्च माध्यमिक विद्यालयको प्रांगणमा कार्यक्रम शुरु भयो । जुन ऐतिहासिक विद्यालय वि.सं.२०१४ सालमा बनेको रहेछ । मुक्ति मा.वि. २०११ सालमा बनेको कुरा थाहा लाग्यो । त्यहाँ २०१६साल पुष १ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा अनावरण गरिएको रहेछ । प्रतिमा अनावरणमा तत्कालीन राजा महेन्द्र शाह र विश्वेश्वरप्रसाद कोइराला आएको कुरा भेषमान गिरीले बताए । त्यो प्रतिमा कृतिशेष महाकवि देवकोटाको मृत्यपछि नब्बे दिनमै बनेको नेपालको पहिलो रहेछ । त्यो समयमा नेपालमा नेपाली कांग्रेसको शासन थियो । 
    राजाद्वारा लोकतन्त्रको संस्थागत विकास हुन नदिएर बहुदलीय प्रजातन्त्र नै निमोठ्ने काम भएकोमा प्युठानेहरु राजतन्त्रप्रति अलि बढी रिसाएका रहेछन् । प्युठानेहरु गणतन्त्रमा विश्वास राख्छन् । यस महान काममा उनीहरुले चुहाएको पसिना र बलिदानको अक्षय कृति स्वर्णाक्षरले लेखिने छ । प्यूठानको माटोमा मोहविक्रम सिंह, मोहन वैद्य, वामदेव गौतम, लिलामणि पोखरेललगायतका वाम नेताहरुले मुलुकको स्वतन्त्रताको लागि केही काम गरेका छन् । पछिल्लोपटक डा. गोविन्द पोखरेलको नाम पनि सुनियो । डा.गोविन्द पोखरेललाई उमेदवारी नदिएर दुर्गा पौडेललाई नै उठाउने कुराले त्यहाँको राजनीति अलि तरङ्गित भएको छ । धेरैले त्यसको प्रत्यक्ष फाइदा सूर्य थापालाई जान्छ भन्ने निष्कर्ष निकाल्दै थिए । निकै चलाक मानिने सूर्य थापाले चुनावी माहोल बनाउँदै थिए । 
    कार्यक्रम सम्पन्न भयो ।

    यहाँ पनि मञ्चमा थोरै राख्ने परम्परा शुरु भएको छ । मञ्चमा प्रा.डा. गितु गिरी र प्राज्ञ गोपिन्द्र पौडेल रहनुभयो । हामी सबै खुसीसाथ परिसरमा बस्यौं । यसले कार्यक्रमलाई समतलीय बनायो । प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको भूमिका र जिल्ला समन्वय समितिका अध्यक्ष धर्मबहादुर जिसी, प्युठान नगरपालिकाका प्रमुख विष्णु योगी, स्वर्गद्वारीका प्रमुख टेकप्रसाद भण्डारीको योगदान पनि छ । यस कार्यक्रमलाई नौवटै पालिकाले सघाएका रहेछन् । जिल्ला समन्वय समितिका अध्यक्ष धर्मबहादुर जिसी त गायक पनि रहेछन् । उनले गीत गाए । सहभागीहरु नाँचे । 
    त्यस बीचमा प्यूठानका चर्चित साहित्यकारहरु मदनबहादुर केसी, देवेन्द्र कुमार रिजाल सम्मानित भए । कविता प्रतियोगितामा १६ जनाले नाम दर्ता गराएका थिए । विभेदविरुद्ध शंखनाद गरेका सुशील सुनार, सुनिल विश्वकर्मा, युवराज भण्डारी पुरस्कृत भए । निमबहादुर थापाले एकलाखको अक्षयकोष राख्ने घोषणा गरे । उता मदनबहादुर केसीले पनि वार्षिक दश दश हजार पुरस्कार राशि दिने गरी एकलाखको अक्षयकोष राख्ने विचार गरे । प्राज्ञ गोपिन्द्र पौडेलले एकलाखको पुरस्कार राशि राखिसकेका रहेछन् । त्यो बीचमा मदन बहादुर केसी, कमल पोखरेल, धनप्रसाद सुवेदी र भक्ति थापा स्मृति प्रतिष्ठानबाट एकएक पुस्तक प्राप्त गरेर धन्य भएको थिएं ।

    समय घर्कदै थियो । हामी आत्तियौं । सूर्य पश्चिम पुगेर पूर्वतिर किरण छर्दै गोधूलीको संकेत गरे । हामी ठीक पाँच बजे हतारहतार त्यहाँबाट मायाको चिनो हात हातमा समाएर भावुक हुँदै र हात हल्लाउँदै निस्कियौं । आहा प्यूठान ! प्यूठानबासीले हाम्रो मन जिते । दिलभरी प्यूठान बोकेर फर्कियौं । प्यूठानीले प्यूठानको पहिचान उज्यालो बनाए ।प्यूठानीहरुलाई धेरैधेरै धन्यवाद । प्यूठानीको क्रियाशीलता, विवेक र विद्वताबाट हामीले धेरै सिक्नुपर्छ । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij