२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नहरमा पानीको माग गर्दै युवा नेता कन्हैया बनियाले बुझाए ज्ञापनपत्र

सोमवार , श्रावण २, २०७९

भैरहवा, २ साउन । 
नहरमा पानीको माग गर्दै मर्चवारका युवा नेता तथा समाजसेवी कन्हैया बनियाले मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्था मझगावालाई ज्ञापनपत्र बुझाएका छन् । यतिखेर रोपाइँ सक्नुपर्थ्यो । तर, आकाशे पानीको भर पर्दा अन्न भण्डार भनेर चिनिने रूपन्देहीको मर्चवार क्षेत्रमा अहिलेसम्म ५० प्रतिशत कम खेतमा रोपाइँ भएको भन्दै मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थालाई नहर पुगेको र पानी पुग्न नसकेको खेतमा तत्काल पानी पुर्याउन मागसहित बनियाले ज्ञापनपत्र बुझाएका हुन् ।

‘सेमरासम्मको लागि छोडिएको पानी दयाँनगर गाउँसम्म मात्र पुग्ने गरेको हुँदा तत्काल नहरको सरसफाई र मर्मतसंभार गरी पुनः सेमरासम्म पानी पुर्याउन सिँचाई आयोजनासंग जोडदार माग गर्दछु ।’ लिफ्ट सिँचाईको कार्यालय मझगाँवामा पुगेर बनियाले संस्थाका अध्यक्ष नजीर अहमद खानलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

यतिबेला किसानका सबै लगानी खेतीको रूपमा बाहिर घाममा सुकिरहेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता बनियाले किसानका खेतमा सिंचाइका लागि पानी पुर्याउन आग्रह गरे । सम्मरीमाई गाउँपलिकाको पोखरहवा, सेमरहवा, जिगिना, रोइनिहवा, बनगई र मर्चवारीको सेमरा लगायतका क्षेत्रमा नहर पुगे पनि सिँचाईको लागि पानी पुग्न सकेको छैन ।

कृषि उत्पादनमा अब्बल मानिने मर्चवार क्षेत्रमा सिँचाईको प्रभावकारी व्यवस्थापन हुन नसक्दा सम्मरीमाई, कोटहीमाइ र मर्चवारीको अधिकांश क्षेत्रमा सिंचाइ हुन सकेको छैन । सिंचाइ हुन नसकेको नहरको सिंचित क्षेत्रमा तत्काल पानी पुर्याउन माग गर्दै नहरमा चलाइएको पानीको मात्रा कम रहेको हुँदा थप पम्प खोल्न समेत उनले आग्रह गरे ।

ज्ञापनपत्र बुझ्दै संस्थाका अध्यक्ष नजीर अहमद खानले नहर मर्मत तथा पानी पम्पको समेत मर्मत भइरहेको र छिट्टै सेमरासम्म पानी पुर्याउने कार्य अगाडी बढाउने प्रतिवद्धता व्यक्त गरे । संस्थासंग बजेटको निकै अभाव रहेको भन्दै त्यस कार्यमा स्थानीय सरकारले समेत सहकार्य गरेको उनले बताए ।