
सोमवार , श्रावण २, २०७९
भैरहवा, २ साउन ।
किसानका माग सम्बोधन गर्न माग गर्दै जनमत पार्टी रुपन्देहीले सोमबार ज्ञापनपत्र बुझाएको छ । जनमत पार्टीले ११ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो । पार्टीको नेतृत्वमा २०७८ पुस ९ गते देशभरीकै किसानहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको र सोही क्रममा गृह मन्त्रालयसँग भएको वार्तामा किसानका मागहरु आगामी बजेटमार्फत सम्बोधन गर्ने भनिए पनि सम्बोधन नभएकाले ज्ञापनपत्र बुझाइएको पार्टीका जिल्ला कार्यवाहक इञ्चार्ज संजय कुमार मिश्रले बताए ।
साउन महिना लाग्दा पनि धानखेतीका लागि समेत किसानहरुले मलखाद नपाएको र सरकारले किसानका समस्याहरुको समाधान गर्ने तत्परता नदेखाएकाले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको उनले बताए । किसानका मागहरु यथाशिघ्र पूरा गर्न माग गरिएको र पूरा नभएमा थप सशक्त आन्दोलनको घोषणा गरिने र त्यसबाट हुने क्षतिको जिम्मेवार सरकार हुने उनले चेतावनी दिए ।
किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र बीउको व्यवस्था सुनिश्चितता गर्नुपर्ने, सिंचाईको व्यवस्था गर्नुपर्ने, नसके सिंचाई बिजुली निःशुल्क गर्नुपर्ने, बेमौसमी हावाहुरी र वर्षाले भएको बालीनाली क्षतिवापत राहत दिनुपर्ने, उत्पादनको उचित समर्थन मूल्य निर्धारण गर्नुपर्ने, उखु किसानको बाँकी वक्यौता रकम भुक्तानी गर्नुपर्ने जनमत पार्टीले माग गरेको छ ।
त्यस्तै किसान कार्डको व्यवस्था गर्नुपर्ने, किसान कार्ड देखाएर सीमा नाकाको बजारबाट मलखाद, बीउ र कृषि औजारसहितका सामान ल्याउन पाइने सुविधा दिनुपर्ने, किसानको लागि पनि पेन्सनको व्यवस्था गर्नुपर्ने, स्वतः बालीनाली बीमा हुने सुनिश्चितता गर्नुपर्ने, किसानमाथि दमन बन्द गरी झुटा मुद्दा खारेज गरिनुपर्ने, गिरफ्तार आन्दोलनकारी निःशर्त रिहार गरी मुद्दा खारेज गरिनुपर्ने माग गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij