
बिहिवार , मंसिर ११, २०७७
अर्घाखाँची, ११ मंसिर ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा हाते ट्रयाक्टर मर्मत तालिम सम्पन्न भएको छ । पछिल्लो समय शहरदेखि गाउँका बस्तीबस्तीमा हाते ट्रयाक्टर प्रयोगकर्ता बढेसंगै श्रम र समयको बचत, सीमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको प्रयोगतर्फ आकर्षित भएकोले गाउँपालिकाले पालिकास्तरमा पहिलो चरणमा १८ जना युवालाई मर्मत तालिममा समावेश गराइएको छ ।
उक्त तालिममा पालिका भित्रिरहेका ९ वटा वडाका युवालाई समेटेर तालिममा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । तालिममा सहभागी युवाले सिपको सदुपयोग गर्ने बताउँदै यस्तो खालको कार्यक्रम आगामी दिनमा पनि ल्याउन आग्रह गरेका छन् ।
परम्परागत रुपमा गोरु जोतिने स्थानमा पावर टेलर प्रयोग गर्दा सजिलो हुने भएकाले पछिल्लो समय यसको माग बढ्दै गएकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको आर्थिक सहयोग गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ । साथै उक्त कार्यक्रमको समापनमा तालिममा सहभागीहरुलाई प्रमाणपत्र र ट्रयाक्टर मर्मत सम्भार सम्बन्धी औजार समेत वितरण गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij