
बुधवार , आषाढ १५, २०७९
भैरहवा, १५ असार ।
‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ लुम्बिनी प्रदेशमा १९ औं धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिएको छ । लुम्बिनी प्रदेश सरकारकी कृषि, खाद्य प्रविधि तथा भूमिव्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले धान रोप्ने मिसिन चलाएर महोत्सवको उद्घाटन गरेकी हुन् । चारपांग्रे धान रोप्ने मेशिनबाट रुपन्देहीमा पहिलो पटक धान रोपिएको छ ।
किसान, सहकारी समूहका प्रतिनिधि, सरकारी अधिकारीहरुको उपस्थिति प्रदर्शनी सञ्चालन भएको थियो । मेशिनबाट एक दिनमा १० विघासम्म धान रोप्न सकिन्छ । नयाँ प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व बढ्ने तथा लागत कम पर्ने कृषि प्राविधिक बताउँछन् ।
कृषि विकास निर्देशनालय, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई रुपन्देही, कृषि ज्ञान केन्द्र रुपन्देही र ज्ञानविज्ञान कृषि सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा रुपन्देहीको सियारी गाउँपालिका–६ स्थित रामगंजमा धान दिवस मनाइएको हो ।
लुम्बिनी प्रदेशमा तीन लाख एक हजार आठ सय ३१ हेक्टर क्षेत्रफमा धान खेती हुन्छ । जसबाट ११ लाख ५९ हजार चार सय ९५ मेट्रिक टन धान उत्पादन हुन्छ । प्रदेशका १२ जिल्लामध्ये रुपन्देहीमा सबैभन्दा बढी दुई लाख ७० हजार सात सय ८२ मेट्रिक टन धान उत्पादन हुन्छ । धान हुर्काउन, बलियो बनाउन, प्रतिरोधात्मक क्षमता र पोषणतत्व बढाउन डिएपी, युरिया, पोटास र जींक आवश्यक पर्छ । रोपेको धानमा १५ दिनपछि युरिया राख्नुपर्छ । तर, यसपटक अधिकांश किसानले मल बिनै धान रोप्न बाध्य भएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij