२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

उदाउँदो सूर्यलाई अर्घ दिएर समापन गरियो छठ

शनिवार , मंसिर ६, २०७७

भैरहवा। नेपाली हिन्दु धर्मालम्बीहरुको महान पर्व छठ उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। 

शुक्रबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसेका ब्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर चार दिनको ब्रत समापन गरेका छन्। तराई मधेसका साथै राजधानी उपत्यका र पहाडी जिल्लाहरुमा पनि मनाइएको छठ पर्वको आज अन्तिम दिन भक्तजनले उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिएको हो।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको थियो। 
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो।

सूर्य षष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीका दिन अस्ताउँदो र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिए वर्षभर सूर्यको आर्शिवाद पाइने सूर्य पुराणलगायत पौराणिक एवं धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमको भनाइ छ ।

अर्धमा ठकुवा, कसार, केरा, उखु, मेवा मिष्ठान, गेँडागुडी र विभिन्न वनस्पति, भुसवा, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटो सूर्यलाई अर्पण गर्ने चलन रहेको छ । सूर्यलाई दिइने अघ्र्यमा ठकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ ।

छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो । छठ पर्व महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि सङ्कल्प गरिन्छ, जो यसको महत्वपूर्ण पक्ष हो । अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटोको रूपमा लिइनु हो ।