images

शुक्रवार, बैशाख ७ गते २०८१

चैते धान भित्र्याउन व्यस्त छन् किसान

चैते धान भित्र्याउन व्यस्त छन् किसान

images
images
images
मंगलवार, जेठ ३१ २०७९
मंगलवार, जेठ ३१ २०७९
  • चैते धान भित्र्याउन व्यस्त छन् किसान

    भजनी, ३१ जेठ ।  कैलालीको भजनी नगरपालिका–८ नवलपुरका रामप्रसाद चौधरी यतिबेला खेतमा व्यस्त छन् । उनलाई एकातिर वर्षे धान रोपाइँको चटारो छ भने अर्कोतिर चैते धान भित्र्याउन । रामप्रसादले यसअघि लगाइएको धान काटेर वर्षेधान रोपाइँको तयारी गरिरहेका छन् । रासायनिक मलको खोजीमा रहेका उनले मल पाएको भए आजसम्म खेत रोपिसकिने  बताए  ।

    images
    images
    images

     चौधरीले  तीन बिघा जमिनमा चैते धान रोपेका छन् । भजनीका अधिकांश किसान  चैते धान भित्र्याउनमै व्यस्त छन् । फागुनको अन्तिम वा चैतको पहिलो साता रोपिएको चैते धान किसानले भित्र्याउन लागेका हुन् । “मौसमले निकै साथ दिएको छ । धान काट्न र सुकाउनका लागि मौसमले  साथ दिएपछि खेत रोपाइँभन्दा पाकेको धान भित्र्याउन लागिपरेका हौँ,” रामप्रसादले भने, “हाम्रा लागि चैते धान नै खाद्यान्नको मुख्य आधार हो । वर्षेधान त बाढी र डुबान भएन भन मात्रै भित्र्याउन पाइन्छ । त्यही पनि केही उच्च ठाउँमा वर्षे धान रोप्ने तयारी गरेको छु ।”

     भजनीका किसानमा हिउँदे खेती गर्न पाए पनि वर्षे खेतीमा आकर्षण निकै कम हुने गरेको छ । बर्सातमा बाढी र डुबानको निकै जोखिम रहेको भजनीमा अधिकांश क्षेत्र डुबानमा पर्छ । लामो समयसम्म डुबान रह्यो भने लगाइएको अन्नबाली कुहिएर जाने भएकाले लगानी मात्रै गर्नुपर्ने तर उत्पादनको ग्यारेन्टी नहुने भएपछि वर्षे बालीमा आकर्षण कम हुँदै गएको भजनीका अर्का किसान सुन्दर चौधरीले बताए । “कतै उच्च स्थानहरुमा किसानहरुले धानबाली रोप्ने गरेका छन् । हुलाकी राजमार्गअन्तर्गतको नगरपालिकाको आसपासका अधिकांश खेतीयोग्य जमिन खाली हुने गरेको छ,” सुन्दरले भने, “चैते धान लगाएका किसानहरूले वर्षे धान लगाउँदैनन् । मौसम राम्रो भयो भने चैते धान सहजै भित्र्याउन सकिन्छ । त्यसैले पनि खेत बाँझै राख्ने गरेका हुन् ।”

     भजनी नगरपालिका–६ का विष्णुप्रसाद डगौंराले दुई बिघा जमिनमा चैते धान रोपेका छन् । उनले केही धान भित्र्याएका छन् । अहिले पनि विष्णुप्रसाद खेतमै व्यस्त छन् । वर्षे धानभन्दा राम्रो उत्पादन दिने भएपछि विष्णुप्रसादले १० कट्ठाबाट सुरु गरेका चैते धानको खेती दुई बिघामा पुर्‍याएको बताए । “वर्षभरिका लागि खाने धान हामी असारमै भित्र्याउने   गछौँ । बर्सातको त भरै हुँदैन ।” विष्णु प्रसादले भने, “खाने र बेच्ने धान चैते धान नै हो । यतिबेला भने धानको समर्थन मूल्य नपाउँदा सस्तोमा धान बेच्नुपर्ने बाध्यता छ ।”

     वर्षे धानको भन्दा बढी लगानी भने चैते धानमा भए पनि  सिँचाइका लागि बढी समस्या हुने गरेको किसानहरुको गुनासो छ ।  घाम र पानीको सन्तुलन मिल्यो भने उत्पादन राम्रो भए पनि बोरिङको पानीले सिँचाइ गर्नुपर्ने भएका कारण विद्युत्को बिल महँगो हुनजाने गरेको अर्का किसान जङ्गबहादुर साउँदले बताए । उनले सरकारले अनुदान दिनुभन्दा पनि सिँचाइका लागि बिजुलीमा अनुदान दिएको भए निकै सहज हुन्थ्यो भने  । “दिनभर सिँचाइ गर्दा  दुई हजारसम्म पनि बिजुलीको  बिल आउने गरेको छ । सरकारले कृषिका लागि बिजुलीमा अनुदान दिए सहज हुने थियो ।” जङ्गबहादुरले भने, “स्थानीय सरकारसँग पटकपटक भन्ने गरेका छौँ । आश्वासन आउँछ तर बिजुलीमा किसानलाई अनुदान आउँदैन ।”

     चैते धानका लागि बजारीकरणको निकै समस्या छ । सरकारले किसानले उत्पादन गरेको धानको समर्थन मूल्य साउनपछि तोक्ने र चैते धानको खेती गर्ने किसानले असारमै धान भित्र्याउने भएका कारण समर्थन मूल्यमा नभई व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको किसान राजेन्द्र विश्वकर्माको गुनासो थियो । “उत्पादन हुन्छ तर बजारीकरणमा निकै समस्या छ । उत्पादन भएको वस्तुको भनेजस्तो मूल्य पाइँदैन ।” राजेन्द्रले भने, “बजारीकरणमा सरकारले ध्यान दिएको  भए उत्साहका साथ काम गर्न सकिन्थ्यो । खेती गर्दा उत्साह हुन्छ बिक्री गर्दा निराश हुनुपर्ने अवस्था छ ।”
    भजनी, जोशीपुर, कैलारीलगायत क्षेत्रमा सयौँ बिघा क्षेत्रफलमा चैते धानको रोपाइँ हुने गरेको छ । केही वर्षपहिले परीक्षणका रुपमा मात्रै हुने गरेको चैते धानको खेतीमा भजनी नगरपालिकाले किसानलाई बीउलगायतमा अनुदानसमेत दिँदै आएको छ । रासस

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij