
शुक्रवार , मंसिर ५, २०७७
भैरहवा, ५ मंसिर ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको आज (शुक्रबार) मुख्य दिन सांझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि सुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा सफलताको कामना गरी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य उल्लेख छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ ।
सूर्यको किरणबाट कयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ । साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोग मुक्त हुन गएको भन्ने चर्चा छ ।
छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।
यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने विधिविधान रहेको छठपूजन समिति सिद्धार्थनगर–५ का संयोजक आनन्द प्रसाद गुप्ताले बताए । कोरोना महामारीका कारण यो वर्ष सि.न.पा.–५ स्थित काली भक्ति गणमा रहेको पोखरीमा छठ पूजा गर्न नसकिएको उनले बताए । तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको गुप्ताको भनाइ छ । सूर्यको पूजा आराधना गरी अर्घ दिएमा चर्म रोग लाग्दैन र सन्तान प्राप्ती हुने भन्ने धार्मिक विश्वास रहेको उनले बताए ।
श्री राम जानकी हनुमान मन्दिर सेवा समिति सि.न.पा.–४ का अध्यक्ष नरेन्द्र प्रसाद रौनियारले कोरोना महामारीलाई मध्यनजर गर्दै छठपूजाका लागि बनाइएका वेदीमा एक घरपरिवारबाट एक/दुई जनाबाहेक नआउन आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै छठपर्व मनाउन उनले आग्रह गरे ।
नेपाल मैथिल समाज सिद्धार्थनगर महिला समितिका अध्यक्ष उषा पाठकले छठपर्वको छुट्टै महत्व रहेको बताइन् । ‘मानिसलाई पानी, जमिन र सूर्यको प्रकाश चाहिन्छ । यो पर्वमा तीनवटै कुराको पूजा हुन्छ, ’उनले भनिन ।
कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ दिएपछि यो पर्व समापन हुने समाजसेवी भैरव कलवार बताउँछन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै छठपर्व मनाउन आग्रह गरेका छन् । उनले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दैनिकी अघि बढाउँदा कोरोनाबाट आफू र अरुलाई पनि जोगाउन सकिने बताए ।
शुक्रबार छठपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले कुनै क्षेत्र र समुदाय विशेषको छठ सबैको साझा पर्व बनेको बताए । यो पर्वले समाजलाई एकाकार भइ अघि सकारात्मक बल प्रदान गरेको उनको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij