२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

रोहिणी गाउँपालिकाद्वारा आधा मूल्यमै गहुँ वितरण

बिहिवार , कार्तिक २७, २०७७

भैरहवा, २७ कार्तिक ।

रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिका अन्र्तगतका किसानहरुका लागी अनुदानमा गहुँ वितरण बिहीबारदेखि सुरु गरेको छ । बजार मूल्य भन्दा ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 

गहुँ छर्ने मौसम रहेकोले किसानहरुको सहजताको लागी अनुदानमा बिउ उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । उनले किसानको लागी सम्बन्धित वडामै बिउ उपलब्ध गराउने गरी गाउँपालिकाले तयारी गरेको बताए । तत्कालको लागी एक वडामा १ सय बोरा गँहुको बिउ उपलब्ध गराइएको उनले बताए । माग अनुसारमा गहुँ बजारमा नपाइएको बताउँदै उनले गहुँ पाइए लगत्तै यो थप विउ बितरण गर्ने जनाए । 

बजार मूल्य भन्दा आधा मूल्यमै गहुँ पाए पछि किसानहरु पनि दङ परेका छन् । बजारमा २ हजार ६ प्रतिबोरा पर्ने बिउ गाउँपालिकाले १ हजार ३ सय रुपैयाँ लिई रहेको छ । १ हजार ३ सयमा आफ्नै गाउँमा बिउ पाएपछि कृषकहरु पनि हर्षित भएका छन् । उनीहरुले बिउ जस्तै मल पनि वडाबाट वितरण हुन सके खेती झन फस्टाउने प्रतिक्रिया दिए । 

पहिलो दिन रोहिणी गाउँपालिका वडा नम्बर २ मा १ सय बोरा बिउ बितरण गरिएको २ नम्बर वडाका वडाअध्यक्ष सरोज कुमार पाण्डेले जनाए । वडामा हुने खेतीको तुलनामा प्राप्त बिउ धेरै थोरै रहेकोले गाउँपालिकालाई थप बिउ उपलब्ध गराउन उनले आग्रह गरिएको बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले चालु आर्थिक वर्षको लागि २० लाख रुपैयाँको बिउबिजन खरिद गर्ने योजना रहेको बताए । उनले गाउँपालिकाले मागेको अनुपातमा कृषि सामाग्री कम्पनीले बिउ उपलब्ध गराउन नसक्दा प्रयाप्त बिउ बितरण गर्न नसकेको बताए । आगामी दिनमा यसलाई थप व्यवस्थित बनाउँदै लैजाने समेत उनले प्रतिवद्धता जनाए ।