२०८२, श्रावण २२ गते

Aug 07 2025 | २०८२, श्रावण २२ गते

गुल्मीका तीन पालिका प्रमुखमा एमालेले टुंग्यायो उम्मेदवार

बुधवार , चैत्र ३०, २०७८

रुपन्देही, ३० चैत । 
नेकपा (एमाले) ले गुल्मीका दुई नगरपालिका र एक गाउँपालिका उम्मेदवार टुंगो लगाएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकामा ई. राजेन्द्र प्रसाद पाण्डेयलाई नगरप्रमुखको उम्मेदवार बनाउने भएको छ ।

एमाले रेसुङ्गा नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा पाण्डेयलाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नगर कमिटी अध्यक्ष हरिप्रसाद पोखरेलले बताए । २०३५ सालबाट विद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका पाण्डेय नेकपा एमाले गुल्मी जिल्ला कमिटी सदस्य हुन् । निजामती कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधि रहेका पाण्डेय इञ्जिनियर हुन् ।

रेसुङ्गा नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा (नेकपा) एमालेले नगरप्रमुख र उपप्रमुख पदमा निर्वाचित भएका थिए । नगरमा तीन पार्टी छुट्टाछुट्टै निर्वाचनमा गएका थिए । रेसुङ्गा नगरमा अन्य पार्टीले भने उम्मेदवार छनोट नगरे पनि गठबन्धनबाट कांग्रेसको मुख्य दावेदारीमा परेको छ । यसअघि मुसिकोट नगरपालिकामा एमालेले जीवन खरेललाई मेयरमा सर्वसम्मत चयन गरेका छ भने कालीगण्डकी गाउँपालिकामा रामजी ढकाल अध्यक्षमा सर्वसम्मत भएका छन् ।

सत्ता गठबन्धनको तर्फबाट मालिका गाउँपालिकामा माओवादी केन्द्रका देवीराम अर्यालको नाम अध्यक्षमा टुंगो लागेको छ भने धुर्कोट गाउँपालिकामा माओवादीका भूपाल पोखरेललाई अगाडि सारिएको छ । यद्यपि धुर्कोटमा औपचारिक टुंगिएको छैन ।
मुसिकोट नगरपालिकामा नेपाली कांग्रेसले हरिनारायण सापकोटालाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ । मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रूपमा सापकोटालाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटाले बताए ।

नेपाली कांग्रेस गुल्मीको पूर्व जिल्ला कमिटी सचिव समेत रहेका सापकोटा तत्कालीन वामी गाविस अध्यक्ष समेत निर्वाचित भएका थिए । उपप्रमुख पदमा भने गठबन्धनलाई दिने गरी छलफल भइरहेको सापकोटाले बताए ।

मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले अध्यक्ष उपाध्यक्ष जितेको थियो । तीन वटा पार्टीबीच छुट्टा–छुट्टै निर्वाचनमा गएका थिए । मुसिकोट नगरपालिकामा (नेकपा) एमालेले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाएको छ । नगरमा खरेल र सापकोटाबीच प्रतिष्पर्धा हुने भएको छ । एमालेले उपप्रमुख पदमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरेको छ । उपप्रमुखमा कमला शर्मा, सीता भुसाल, गंगा श्रेष्ठको दावी गरेका छन् । रुरु, छत्रकोट, मालिका, धुर्कोट माओवादीले दावी गरेका पालिका हुन् ।