
सोमवार , फाल्गुण २३, २०७८
बुटवल, २३ फागुन ।
महिला सफलताको लागि कार्यस्थललाई सुरक्षित र हिंसामुक्त बनाउन सरोकारवालाहरुले आग्रह गरेका छन् । महिलाहरु रोजगारीमा जोडिदा कार्यस्थलमा धेरै समय बिताउनुपर्ने भएकाले त्यसलाई लैंगिक रुपले सुरक्षित र हिंसामुक्त बनाउनुपर्ने उनीहरुले बताए ।
मिडिया एड्भोकेसी ग्रुप र सोलिडारिटी सेन्टरले सोमबार बुटवलमा आयोजना गरेको महिलाको सफलताका लागि हिंसामुक्त कार्यस्थल विषयक अन्तरसंवादमा बोल्दै सरोकारवालाहरुले कार्यस्थलको असुरक्षा हटाउन अब बहस र पैरवी सुरु गर्नुपर्ने बताए । कार्यस्थलमा हुने हिंसाका कारण रोजगारीमा जोडिएका धेरै महिलाले बीचमै काम छोडेको, शारीरिक, मानसिक एवं यौनजन्य हिंसा सहनुपरेको उनीहरु दुखेसो पोखे ।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता प्रदेश सभा सदस्य एवं सामाजिक विकास समिति सदस्य दीपा विश्वकर्माले कार्यस्थलमा हुने यौनजन्य हिंसा हुन् या मानसिक हिंसा र विभेदलाई बाहिर ल्याउनुपर्ने बताइन् । उनले श्रमिक महिलालाई प्रवेशदेखि कामसम्ममा विभेद र हिंसा भएको बताउँदै त्यसविरुद्ध महिलाहरु बोल्नुपर्ने बताइन् ।
सरकारले कार्यस्थलमा हुने हिंसा रोक्न कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण ऐन २०७१ बनाएको छ । तर, कानुनको व्यवहारिक पालना नहुँदा अझै पनि कार्यस्थल सुरक्षित छैनन् । सन् २०१९ मा अन्तर्राष्ट्रिय श्रम संगठनको हिंसा र दुव्र्यवहार महासन्धि १९० बनेपनि नेपालले त्यसलाई अनुमोदन गरेको छैन । कानून, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव शारदा बस्यालले शारीरिक र यौनजन्य हिंसा देखिने र उजुरी गर्न सकिने हिंसा भए पनि श्रमिक महिला नदेखिने हिंसाबाट समेत पीडित भएको बताइन् । महिला महिला कर्मचारीलाई गरिने व्यवहार, कामको जिम्मेवारी, सम्बोधन देखि कामको मूल्यांकनसम्ममा भएका हिंसा र विभेद हटाउन पितृसत्तात्मक सोच बदल्न उनले आग्रह गरिन् ।
अधिकारकर्मी एवं एमाले केन्द्रीय सदस्य सावित्रा अर्यालले पितृसत्तात्मक सोच नबदल्दासम्म कानुन बदलेर मात्रै लैंगिक समानता कायम नहुने बताइन् । उनले कार्यस्थलमा हुने लैंगिक एवं यौनजन्य हिंसाविरुद्ध खुलेर बोल्न समेत आग्रह गरिन् ।
नेकपा (एकीकृत समाजवादी) का रुपन्देही सह–इञ्चार्ज सरीता श्रीषले अन्यायमा पर्दा घरमै न्यायका लागि बोल्न सक्ने वातावरण नहुँदासम्म कार्यस्थलमा हिंसामा परेको आवाज उठाउन नसक्ने बताइन् । त्यसका लागि पहिला घरमा समानताको अवधारणा स्थापित गर्न जरुरी रहेको श्रीसले सुझाव दिइन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अधिकृत फर्सुराम भट्टराईले पूर्वाधार निर्माणदेखि संरचना र सोचाइमै लैंगिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । लैंगिक हिंसा न्युनिकरणका लागि जनचेतनासंगै कानून कार्यान्वयनको आवश्यकता रहेको उनले जनाए ।
कार्यक्रममा कांग्रेस रुपन्देहीका सदस्य कमला पाण्डे, लुम्बिनी महिला उद्यमी मन्चका रचना पन्थ, सञ्चारिका रुपन्देही अध्यक्ष निरु गौतम, निर्माण व्यवसायी मञ्जु भुसाल लगायतले कार्यस्थलमा हुने हिंसा रोक्न र कार्यस्थललाई सुरक्षित बनाउने उपायबारे बताए ।
पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार अमृता अनमोलले कार्यस्थलको सुरक्षा र त्यसको आवश्यकताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij