भैरहवा, १७ फागुन । आज महाशिवरात्रि पर्व । देशभरका शिव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित बसडिलवा शिवालय मन्दिर (शिव मन्दिर)मा दर्शनका लागि बिहानदैखि भक्तजन लाइन बसेका थिए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शंकर प्रसाद ज्ञवालीका अनुसार प्रत्येक वर्ष ४० हजार भक्तजन मन्दिरमा आउने गरेका छन् । यस वर्ष यो संख्या अझै बढ्न सक्ने ज्ञवालीले जानकारी दिए ।
अघिल्लो वर्ष कोरोना महामारीका कारण केही प्रभावित शिवरात्री यो वर्ष भव्य भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा बिहान सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी पुगेका थिए ।
बसडिलवा शिवालय मन्दिर यस क्षेत्रका बासिन्दाको उच्च आस्था बोकेको स्थापित र चर्चित मन्दिर भएको स्थानीय प्रख्यात बन्जाडेले बताए । विशेष गरी यो मन्दिरमा महाशिवरात्रि र तीज पर्वमा विशेष मेला लाग्ने भएकाले ठूलो जमघट हुने गर्दछ । शिवरात्रिको अवसरमा मन्दिर परिसरमा जेसीआई सिद्धार्थ लेडी, नेपालले प्रसाद वितरण तथा सरसफाई कार्यक्रम गरेको छ ।
त्यस्तै नेपाल रक्तदाता संघ सिद्धार्थनगर, रुपन्देही र रो«याक्ट क्लब अफ भैरहवाले संयुक्त रुपमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।