२०८३, कार्तिक ३० गते

Nov 16 2026 | २०८३, कार्तिक ३० गते

पहिलो त्रैमासमा ४२ अर्ब ३२ करोड वैदेशिक सहायता प्राप्ति

सोमवार , कार्तिक ३०, २०८३

  • 70
    Shares
  • 70
    Shares
  • काठमाडौं, ३० कार्तिक ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपालले ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी वैदेशिक सहायता प्राप्त गरेको छ ।

    अर्थमन्त्रालयलयका अनुसार वैदेशिक ऋण तथा अनुदान गरी असोज मसान्तसम्म उक्त रकम प्राप्त भएको हो । असोज मसान्तसम्मको विवरणअनुसार वैदेशिक ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । यस शिर्षकमा सरकारले वार्षिक २ खर्ब ४७ अर्ब ३५ करोड ७ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेको छ । लक्ष्यको तुलनामा ऋण प्राप्तिको प्रगति १३.८८ प्रतिशत रहेको छ । 

    त्यस्तै, अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ९४ करोड ५४ लाख रुपैयाँ अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा असोज मसान्तसम्म १२.९३ प्रतिशत प्रगति भएको छ ।

    ऋण र अनुदान गरी चालु आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २९ करोड ६१ लाख रुपैयाँ वैदेशिक सहायता प्राप्त गर्ने वार्षिक लक्ष्य रहेको छ । असोज मसान्तसम्म कुल ४२ अर्ब ३२ करोड ५४ लाख रुपैयाँभन्दा बढी प्राप्त भएको छ । 

    यसैबीच, चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक सहायतासम्बन्धी कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । महिनागत विवरणअनुसार साउनमा २ अर्ब २० करोड ३८ लाख रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ ।

    भदौमा १ अर्ब १३ करोड ७३ लाख रुपैयाँ र असोजमा ३ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको छ । पहिलो त्रैमासमा प्राप्त भएको वैदेशिक सहायता प्रतिवद्धता कुल ६ अर्ब ४७ करोड ११ लाख रुपैयाँ पुगेको छ । 

    वैदेशिक सहायता परिचालनको विवरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ऋण तथा अनुदान प्राप्ति वार्षिक लक्ष्यको तुलनामा १३ प्रतिशत हाराहारीमा सिमित रहेको छ ।