२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

नेपाली कांग्रेस सिद्धार्थनगर–३ द्वारा रक्तदान

शनिवार , फाल्गुण १४, २०७८

भैरहवा, १४ फागुन ।
नेपाली कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ सिद्धार्थनगरले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सिद्धार्थनगर–३ चिल्ड्रेन पथ (दुर्गा मन्दिर) खजहनामा भएको कार्यक्रममा ५१ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा कांग्रेस वडा नम्बर ३ का सचिव धर्मवीर शर्माले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिति कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले पार्टीको अधिवेशनपछि कांग्रेस एक भइसकेको बताए । उनले कांग्रेसको युवा पुस्ता नेतृत्वमा आइसकेको बताए । नेता खाँणले अब कांग्रेसले हरेक वडामा संगठित हुने, गतिशिल र बलियो बनाएर निर्वाचनमा विजयी प्राप्त गर्न सके स्थानीयस्तरबाटै विकास र समृद्धि ल्याउन सकिने बताए । उनले पार्टीको हरेक तह र तप्कालाई कसरी गतिशिल बनाउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्नेमा जोड दिए । कांग्रेस पुराना इतिहास बोकेको पार्टी भएको उनको भनाइ थियो । कांग्रेसले ठूला आन्दोलनको नेतृत्व सम्हाल्नुका साथै मुलुकमा विकास र समृद्धिका लागि धेरै ठूलो कामहरु गरेको नेता खाँणले बताए ।

‘कांग्रेस वडा नम्बर ३ ले सराहनीय र उदाहरणीय काम गरेको छ, यस्ता किसिमका कार्यक्रम रुपन्देहीका १५५ वटै वडाले गर्नुपर्छ, नेपालका हरेक पार्टीले उदाहरणको रुपमा लिएर रक्तदान कार्यक्रम गर्नुपर्छ, ’उनले भने । यस्ता कार्यक्रमले राम्रो सन्देश जाने उनको भनाइ थियो । उनले रगतको अभावमा अकालमा मानिसको ज्यान जान सक्ने भएकाले रक्तदान कार्यक्रम समाजका लागि उदाहरणीय कार्य भएको बताए । 

IMG_2882.JPG

त्यस्तै विशिष्ट अतिथि कांग्रेस क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङले कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ सिद्धार्थनगरले पुनित कार्य गरेको बताए । उनले युवाहरु आन्दोलन मात्र नभइ रचनात्मक कार्य गर्न सक्छन् भन्ने कुरा पुष्टि भएको बताए ।
कार्यक्रममा कांग्रेस क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्र जंग थापा, सिद्धार्थनगर सभापति कोशिष बहादुर खड्का, निवर्तमान जिल्ला कोषाध्यक्ष दीपक क्षेत्री न्यौपाने, क्षेत्रीय सदस्य रुपमाया पुन लगायतले बोल्दै कांग्रेस मुलुकको पुरानो पार्टी भएको र पार्टी जनताको मनमा बस्न सफल भएको बताए ।

IMG_2878.JPG

कांग्रेस वडा कार्यसमिति वडा नम्बर ३ का सभापति निल बहादुर थापाको सभापतित्व, निवर्तमान सभापति चन्द्रवली यादवको स्वागत तथा सचिव धर्मवीर शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_2899.JPG