२०८२, कार्तिक २५ गते

Nov 11 2025 | २०८२, कार्तिक २५ गते

स्थानीय निर्वाचन केन्द्रीत भेटघाट तथा छलफल तीव्र

शुक्रवार , फाल्गुण १३, २०७८

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • परासी, १३ फागुन ।
    स्थानीय तहको निर्वाचन वैशाख ३० गते देशभर एकैचरणमा गर्ने सरकारले घोषणा गरेसँगै अहिले देशभरसंगै पश्चिम नवलपरासीका विभिन्न पालिकाहरुमा उम्मेदारीलाई लिएर चासो बढेको छ । सरकारले स्थानीय चुनावको घोषणा गरे लगत्तै अहिले पालिकाहरुमा विभिन्न दलहरुले स्थानीय चुनाव केन्द्रित भेटघाट र छ्लफलका गतिविधिलाई तीव्र बनाएका छन् । 

    यसै गरी जिल्लाको सरावल गाउँपालिकामा पनि स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्ष पदको लागि अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने भन्दै आन्तरिक प्रचारबाजी सुरु गरेका छन् । यो पालिकामा स्थानीय चुनावलाई लिएर नेपाली कांग्रेसबाट युवाहरुले बढी चासो दिएका छन् । विशेष गरी विभिन्न चिया पसल, सार्वजनिक ठाउँ तथा विभिन्न कार्यक्रमहरुमा समेत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अहिले पालिकामा अध्यक्ष पदमा युवा वर्गलाई अघि सार्नुपर्ने र कांग्रेसलाई नयाँ दिशामा लैजानुपर्ने आजको आवश्यकता रहेको बताउदै आएका छन् । 

    आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट सरावल गाउँपालिकाको अध्यक्ष पदको उमेदवारका लागि वर्तमान अध्यक्ष राधेश्याम चौधरीले आफू पुनः दोहोरिने इच्छा जाहेर गरिरहँदा सोही पार्टीबाट नै युवा समाजसेवी कृपाकौशल चौधरी, प्रदिप कुमार अग्रहरी, अनिल कुमार गौड र वर्तमान उपाध्यक्ष उत्तमा राय पनि पालिका अध्यक्षको सम्भावित उम्मेदवार रहने इच्छा जाहेर गरिरहेका छन् । 

    अहिले वर्तमान समयलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले स्थानीय चुनावमा युवा वर्गलाई अघि सार्नुपर्ने बताउँदै युवा समाजसेवी कृपाकौशल चौधरीले आफू पनि पालिका अध्यक्ष पदको लागि इच्छुक रहेको हुदा पार्टीले वर्तमान समयलाई ध्यान दिदै पालिकामा युवा वर्गलाई टिकट दिनेमा आफु आशावादी रहेको बताए । उनले युवा नेतृत्वलाई नै यस पालिकाबासीहरुले चयन गर्ने बताए । साथै उनले स्थानीय चुनावमा अध्यक्ष पदको टिकट कसले पाउने कसले नपाउने भन्नु भन्दा पार्टीले युवा नेतत्वलाई नै टिकट दिने र पार्टीलाई नयाँ दिशामा लैजानेतर्फ आफू विश्वस्त रहेको धारणा राखे । 

    पछिल्लो समय नेपाली कांग्रेसबाट युवा वर्गलाई नेतृत्वमा लैजाने कुरा बाहिर आएको पार्टी निकट स्रोतले जानकारी गराएको छ । त्यस्तै पार्टी निकट स्रोतका अनुसार नेकपा (एमाले) बाट सुखाडी प्रसाद चौधरी, पन्चराम चौधरी, जगदीश चौधरी, सुशान्त शर्मा घिमिरे र देवराज चौधरी लगाएको सरावल पालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी) बाट पहलाद पासवान र प्रकाश भट्टराई सरावल गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहने आकांक्षी देखिएका छन । त्यस्तै जसपाबाट इन्द्र कमल यादव र निर्मल यादव पालिका अध्यक्ष पदको लागि उम्मेदवार रहने आकांक्षी देखिएका छन् । त्यसै गरी जनमत पार्टीबाट शैलेश चौधरी र शारदा चौधरी पालिका अध्यक्ष पदको उम्मेदवार रहने सम्भावना बलियो देखिएको छ । 

    त्यसैगरी लोसपाबाट सुभान अन्सारीको उम्मेदवारी रहने बताइएको छ । त्यस्तै राप्रपाबाट सरावल गाउँपालिका अध्यक्षमा ओम प्रकाश चौधरी र नरेश चौधरी उम्मेदवार रहने सम्भावना देखिएको छ । त्यसै गरी नेकपा (माओवादी केन्द्र) र जनता प्रगतिशील पार्टीबाट सरावल गाउँपालिकामा हाल उम्मेदवारहरुको चर्चा भने कम देखिएको छ । सरावल गाउँपालिका अध्यक्ष पदको अलग–अलग पार्टीका नेताहरुले आफ्नो दावेदारी रहने आन्तरिक प्रचारबाजी गरे पनि हाल पार्टीहरुले उम्मेदवारको औपचारिक घोषणा भने गरेका छैनन् । सात वटा वडा रहेको सरावल गाउँपालिका हाल २७ हजारको हाराहारीमा मतदाताहरुले स्थानीय तहको आगामी निर्वाचनमा मतदान गरी उम्मेदवार चयन गर्नेछन् ।