
आइतवार , फाल्गुण ८, २०७८
भैरहवा, ८ फागुन ।
रुपन्देही क्रिकेट संघको आयोजनामा ‘नेपाल टेलिकम रुपन्देही सुपर लिग–२०७८’ अन्तर्गत शनिबार भएको पहिलो खेलमा देवदह क्रिकेट क्रिकेट, देवहद विजयी भएको छ । बी डिभिजन अन्तर्गत भएको खेलमा बुटवल युथ, बुटवललाई ४४ रनले पराजित गर्दै देवदह विजयी भएको हो ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर देवदह क्रिकेट क्लबले ब्याटिङ रोजेको थियो । निर्धारित ४० ओभरमा देवदहले ८ विकेट गुमाउँदै २१४ रनको योगफल बनायो । उसका लागि क्रितिमान श्रेष्ठ र सुदिप जि.सी.ले ५३/५३, विजय सुनारले ३३, सुमनराज पाण्डेले २६ र हिल्सन क्षेत्रीले १० रनको योगदान गरे । बलिङतर्फ बुटवल युथका विनित अधिकारीले ३ तथा सन्तोष परियार, कृष्ण सेन, आरिफ हुसेन शेष र नयन के.सी.ले १/१ विकेट लिए ।
जवाफमा बुटवल युथले ३६ दशमलव ३ ओभरमा १० विकेट गुमाउँदै १७० रन बनायो । उसका लागि विनित अधिकारीले ६३, दिपेन्द्र हितलांगले १९, सन्तोष परियारले १७, स्वस्तिक विश्वासले ११ र कृष्ण सेनले १० रनको योगदान गरे । बलिङमा देवदहका विजय सुनारले ३, क्रितिमान ढकाल, विशाल ज्ञवाली र हिल्सन क्षेत्रीले २/२ तथा नविन पाण्डेले १ विकेट लिएका थिए ।
प्रतियोगतामा म्यान अफ द म्याच देवदहका क्रितिमान ढकाल घोषित भएको रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङले बताए ।
लिगको विजेतालाई रु. ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेतालाई रु. ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, म्यान अफ द सिरिजलाई रु. १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई रु. ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै म्यान अफ द म्याच (प्रत्येक खेल)मा रु. १ हजार २ सयसहित ट्रफी प्रदान गरिने रुपन्देही क्रिकेट संघले जनाएको छ । प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ ।
शनिबार प्रतियोगिताको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै मन्त्री खाँले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार लागिपरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij