२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

माघमा उत्कृष्ट कार्यसम्पादन गर्ने रुपन्देहीका तीन प्रहरी कर्मचारी पुरस्कृत

आइतवार , फाल्गुण ८, २०७८

भैरहवा, ८ फागुन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले माघ महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने तीनजना प्रहरी कर्मचारीलाई ‘हाई इन्टीग्रीटी इञ्चार्ज अफ द मन्त’ बाट पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा वडा प्रहरी कार्यालय भैरहवाका प्रहरी निरीक्षक सुवास तिमिल्सिना, प्रहरी चौकी मुडिला (करौंता) का प्रहरी सहायक निरीक्षक घनश्याम रिमाल र प्रहरी चौकी ठर्कीका प्रहरी सहायक निरीक्षक सनन्दन प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम माघमा समग्र पक्षको आधारमा तीन जनालाई सम्मान गरिएको डीएसपी पौडेलले जानकारी दिए ।

प्रहरी निरीक्षक तिमिल्सिना तथा प्रहरी सहायक निरीक्षक रिमाल र यादवले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवं प्रशंसनीय ढंगबाट सम्पादन गरेको उनले बताए ।

‘जिल्ला प्रहरी कार्यालयबाट सञ्चालन गरिएको फरार अपराधी पक्राउ, नागरिक सूचना कार्ड, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा ‘उच्च इन्टीग्रीटी स्कोर’ प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीलाई समेत गैह्रव्यवसायिक गतिविधि नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकाले सम्पादित कार्यको उच्च मुल्यांकन गर्दै प्रहरी कर्मचारीहरुलाई प्रोत्साहित गर्न सम्मान तथा नगद पुरस्कार प्रदान गरिएको छ, ’उनले भने ।

तीनजना प्रहरी कर्मचारीलाई एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोज कुमार के.सी.ले हाई इन्टीग्रीटी अवार्ड प्रदान गरे ।