बुधवार , फाल्गुण ४, २०७८
बुटवल, ४ फागुन ।
एमसीसीको विरोधमा नेकपा लगायतका दल तथा मोर्चाद्वारा आव्हान गरिएको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ ।
मुख्य राजमार्गहरु बिहानैदेखि सुनसान छन् । बन्दका कारण सिद्धार्थ तथा पुर्व–पश्चिम राजमार्ग ठप्प प्राय देखिएका छन् । बन्दका कारण बजार, पसल तथा विद्यालयहरु बन्द रहेका छन् । लामो दुरीका सवारीसाधन चलेका छैनन् । मोटरसाइकल लगायतका साना सवारीसाधन मात्र फाट्टफुट्ट चलेका छन् ।
सम्भावित सुरक्षा चुनौतीलाई ध्यान राख्दै नेपाल प्रहरी–सशस्त्र प्रहरीहरु चोकचोकमा छन् । बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन् । मोर्चामा सहभागि नेता–कार्यकर्ता पक्राउ परेको विप्लव नेतृत्वको नेकपाले जनाएको छ ।
पक्राउ पर्नेमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका शशी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन् ।
उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो । सडकमा सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij