
आइतवार , फाल्गुण १, २०७८
भैरहवा, १ फागुन ।
आउँदो ९ औं राष्ट्रिय प्रतियोगिता तथा १४ औं एसियाली खेलकुद (साग)लाई मध्यनजर गर्दै सगरमाथा क्लब सिद्धार्थनगर र भैरहवा तेक्वान्दो क्लबीच सम्झौता भएको छ । जिल्ला तथा प्रदेशस्तरीय छनौट प्रतियोगिताको तयारीको लागि भैरहवा तेक्वान्दो क्लबका १० जना जेहेन्दार खेलाडीहरुको प्रशिक्षण समयमा हुने खर्च तथा खेल अवधिभरको बसोबास, खाना तथा यातायात खर्च सगरमाथा क्लबले उपलब्ध गराउने भैरहवा तेक्वान्दो क्लबसंग सम्झौता गरिइको हो । उक्त तयारीका लागि भैरहवा तेक्वान्दो क्लबले प्रशिक्षणको व्यवस्था मिलाउने र उक्त प्रशिक्षणमा १२ औं सागका रजत पदक विजेता किरण बहादुर आले टिम क्याप्टेन र फिटनेश ट्रेनर प्रितम पुन रहने प्रशिक्षक प्रकाश मान राजभण्डारीले बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीको रोहबरमा सगरमाथा क्लबका उपाध्यक्ष सुनिल चौधरी र भैरहवा तेक्वान्दो क्लबका कोषाध्यक्ष दिपक न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
सगरमाथा क्लबका अध्यक्ष अर्जुन क्षेत्रीले भैरहवा तेक्वान्दो क्लबका खेलाडीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक ल्याउन सफल रहेको बताए । उनले भने, ‘१२ औं तथा १३ औं साग खेलमा लगातार पदक प्राप्त गरी नगर तथा देशकै नाम राख्न सफल रहेकाले भैरहवा तेक्वान्दो क्लबका खेलाडीहरुले ९ औं राष्ट्रिय प्रतियोगिता तथा १४ औं एसियाली खेलकुदमा पुनः पदक ल्याउने विश्वाससहित हौसला प्रदान गर्ने उद्देश्यले यो सम्झौता गरिएको छ । ’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्रीले तेक्वान्दो खेल विकासको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा निर्णायकहरु उत्पादन गर्दै देशकै नाम राख्न सफल भएको भन्दै भैरहवा तेक्वान्दो क्लबलाई धन्यवाद दिए । उनले आगामी दिनमा सहज वातावरण बनाउन सगरमाथा क्लबले सहयोग गरेकोमा खुसी व्यक्त गरे । वडाअध्यक्ष क्षेत्रीले भने, ‘१२ औं सागमा पदक प्राप्त गर्न सफल सि.न.पा. ६ का खेलाडी सुनिल पौडेल र १३ औं सागका खेलाडीहरु किरण बहादुर आले र गोविन्द बहादुर आले लगायत प्रशिक्षकलाई व्यक्तिगत तथा वडासमितिबाट सहयोग तथा सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ क्लबले अझै खेलाडीहरु उत्पादन गर्दै जानेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ थियो ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा सिद्धार्थनगर–५ का वडाअध्यक्ष चेत बहादुर क्षेत्री, भैरहवा तेक्वान्दो क्लबका कार्यकारी सदस्य विनोद थापा, सदस्य सरस्वती शाही, सगरमाथा क्लबका सदस्य बसन्त शाही, दिपक शर्मा, कृष्ण प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij