
शनिवार , माघ २९, २०७८
भैरहवा, २९ माघ ।
रुपन्देहीमा आइतबार (भोलि) देखि ‘खड्गप्रसाद गौचन मेमोरियल अण्डर–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता–२०७८’ हुने भएको छ । स्टार क्रिकेट एकेडेमीको आयोजनामा फागुन १ गतेदेखि हुने प्रतियोगिता चौथो संस्करणको हो ।
स्व. खड्गप्रसाद पूर्व राष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनका बुवा हुन् । स्टार क्रिकेट एकेडेमी शक्तिले सञ्चालन गर्दै आएका छन् । शक्तिले आफ्नो बुवाको स्मृतिमा विगत ४ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएका छन् ।
‘नयाँनयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग समेत पुग्ने भएकाले प्रतियोगिता आयोजना गर्दै आएको छु’, शनिबार ओमसतिया गाउँपालिका–२ स्थित पडसरीमा आयोजित पत्रकार सम्मेलनमा गौचनले भने ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशाला र दाङको लमहीस्थित देउखुरी क्रिकेट स्टेडियम हुने प्रतियोगितामा ८ वटा टिम सहभागी हुने गौचनले जानकारी दिए । ‘प्रतियोगितामा १० वटा टिमको सहभागिता गराउने लक्ष्य रहे पनि यसपटक पोखरा र काठमाडौंको टिम ल्याउन सकेनौं, उनले भने । ८ वटा टिमलाई दुईवटा समूह (ग्रुप) मा विभाजन गरेर खेल सञ्चालन हुने उनले बताए ।
प्रतियोगितामा ग्रुप ए अन्तर्गत काशी नोबल एकेडेमी, स्टार क्रिकेट एकेडेमी, न्यू मुन एकेडेमी र दमकडा क्रिकेट एकेडेमी तथा ग्रुप बी अन्तर्गत धनगढी क्रिकेट एकेडेमी, देउखुरी क्रिकेट एकेडेमी, न्यू होराइजन स्पोर्ट्स क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको सहभागिता रहनेछ ।
ग्रुप ए का खेल सिद्धार्थ रंगशाला र ग्रुप बी, सेमीफाइनल र फाइनल खेल देउखरी क्रिकेट स्टेडियममा हुनेछ । फाइनल खेल फागुन ८ गते हुनेछ । प्रतियोगिताको आइतबार सिद्धार्थ रंगशालामा बिहान १० बजे लुम्बिनी प्रदेश सरकारका शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दीन खानले उद्घाटन गर्ने कार्यक्रम रहेको शक्ति गौचनले जानकारी दिए ।
यसअघि शक्तिका बुवा खड्गप्रसादको निधन भएको दिन माघ १४ गतेबाट प्रतियोगिता हुँदै आएकोमा यसपटक भने कोरोना महामारीका कारण पछि धकेलिएको हो । यस वर्ष बुवाको जन्मदिनको अवसर पारेर फागुन १ गतेदेखि प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए । राष्ट्रिय टिमबाट संन्यास लिएपछि उनले एकेडेमीमार्फत् नयाँ खेलाडीहरु उत्पादनमा टेवा पुर्याउँदै आएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij