२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

भैरहवामा प्रथम वार्ड क्रिकेट कप हुँदै

बिहिवार , माघ २७, २०७८

भैरहवा, २७ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को कार्यालयको आयोजनामा भैरहवामा प्रथम वार्ड क्रिकेट कप हुने भएको छ । खेलकुद क्षेत्रको विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले वडामा अवस्थित विद्यालयकाबीच प्रतियोगिता गर्न लागिएको वडाअध्यक्ष करुञ्जन कुमार श्रेष्ठले बताए ।

आगामी फागुन ७ गते हुने प्रतियोगिताबारे आयोजकले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित पक्लिहवा माध्यमिक विद्यालयमा हुने प्रतियोगितामा बुद्ध ज्योति मा.वि., न्यू ईरा मा.वि., बुद्ध ज्ञान निकेतन (बी.जी.एन.) र काशी नोबेल एकेडेमीको सहभागिता रहने कार्यक्रम संयोजक तथा सिद्धार्थनगर–१२ का वडा सदस्य सरोज ठकुरीले बताए । प्रतियोगिता १२ ओभरको हुने उनले जानकारी दिए ।

वडाको सामाजिक विकास अन्तर्गत विनियोजित १ लाख रुपैयाँबाट वडाका विद्यालयका विद्यार्थीहरुको बौद्धिक, शारीरिक एवं क्षमता अभिवृद्धि गर्नका लागि प्रथम वार्ड क्रिकेट कप गर्न लागिएको ठकुरीले बताए । ‘प्रतियोगिताले विद्यार्थी खेलाडीहरुको बौद्धिक, शारीरिक क्षमताको अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिएका छौं, ’उनले भने । 

पत्रकार सम्मेलनमा वडा अध्यक्ष करुञ्जन कुमार श्रेष्ठ, वडासदस्य सरोज ठकुरी, वडा सचिव हीरा बराल, बुद्ध ज्ञान निकेतनका प्राचार्य लाल बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।