
शुक्रवार , माघ २१, २०७८
भैरहवा, २१ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगरले ३६ औं स्थापना दिवस मनाएको छ । दिवसको अवसर पारेर क्लबले बिहीबार भैरहवामा चार्टर नाइट तथा अवार्ड सेरोमोनी कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ सिद्धार्थनगरले रचनात्मक कार्य गर्दै आएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
त्यस्तै फस्ट भाइस डिष्ट्रिक गभर्नर सी.बी. चन्द, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, पाष्ट डिष्ट्रिक गभर्नर अनुप पहारी, डिष्ट्रिक चिफ एडभाइजर उमंग देवकोटा, लायन्स क्लब अफ बुटवलका अध्यक्ष लोक प्रसाद खरेल, लायन्स क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष तथा संस्थापक सदस्य नन्दलाल गोयनका लगायतले क्लबले गरेका कार्यहरुबारे प्रशंसा गरे ।
लायन्स क्लब अफ सद्धार्थनगर वर्ष २०२१/२२ का अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, क्लबका द्वितीय उपाध्यक्ष रवि श्रेष्ठको ध्वजा अभिवादन, कार्यक्रम संयोजक तथा क्लबका कोषाध्यक्ष उमेश थापा मगरको स्वागत तथा सचिव धर्मराज आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष नेत्र प्रसाद आचार्यले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै क्लबका पदाधिकारी तथा सदस्यहरुलाई मायाको चिनो प्रदान गरेका थिए । त्यस्तै क्लबका पूर्वअध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।
यसैबीच भारतको लुधियाबाट साइकल यात्रा सुरु गरेका साईकलिष्टद्वय जितेन्द्र सिंह र जितेन्द्र सिंहलाई सम्मान गरिएको थियो । साईकल सिटी भैरहवाका अध्यक्ष सुर्यकुमार सारु मगरका अनुसार एउटै नामथर भएका दुई युवाहरु एउटै साइकलमा नेपाल आइपुगेका छन् । बिहीबार भैरहवा पुगेका उनीहरुलाई लायन्स क्लब अफ सिद्धार्थनगरले सम्मान गरेको हो ।
कार्यक्रममा क्लबको गतिविधि सञ्चारमाध्यममार्फत समाचार सम्प्रेषण गरी योगदान पुर्याएको भन्दै पत्रकारद्वय मनोरञ्जन शर्मा र रबिन्द्र प्रताप गुप्तालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा क्लबका पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको थियो । त्यस्तै डिष्ट्रिक गभर्नर रामप्रसाद भट्टले लायन्स क्लब अफ सिद्धार्थनगर वर्ष २०२१÷२२ का पदाधिकारी तथा सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij